पोखरा- गण्डकी प्रदेशसभाको सभामुखमा नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल निर्वाचित भएका छन् ।
शनिबार प्रदेशसभामा भएको निर्वाचनमा धितालले ३२ मत पाए । ६० सदस्यीय प्रदेशसभामा मतदानमा ५८ जना सहभागी भएका थिए ।
धिताललाई नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टी २ र नेकपा एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र र्सांसद दीपक मनाङेले पनि मत दिए । एमालेबाटै निर्वाचित भएका ज्येष्ठ सदस्य मित्रलाल बस्याल भने मत विभाजनमा सहभागी भएनन् ।
सभामुखमा नेपाली कांग्रेसकी सांसद सरस्वती अर्याल तिवारीले पनि उम्मेदवारी दिएकी थिइन् । तर उनी पराजित भइन् ।
सत्तारुढ गठबन्धनबीच गण्डकी प्रदेशसभाको सभामुख माओवादी केन्द्रले पाउने सहमति थियो । गठबन्धनमा रहेका दलहरुको सहमति अनुसार मुख्यमन्त्री भने नेकपा एमालेका नेता खगराज अधिकारी चयन भइसकेका छन् र उनले विश्वासको मत पाइसकेका छन् ।
सरकारी जागिरेदेखि सभामुखसम्म
६१ वर्षीय धिताल माओवादी जनमुक्ति सेनाको कमिसार हुन्।
०५२ सालमा परिवारसहित भूमिगत बनेका उनलाई पार्टीले युद्धसम्बन्धी तालिम लिन भारत पठाएको थियो। भारतमा उनले बम र बारुद बनाउने तालिम लिए। जनयुद्धकालीन समयमा उनी बम बनाउने दस्तामा काम गर्थे।
भेटेनरीमा आइएस्सी गरेका धिताल एक समय सरकारी जागिरे थिए। ०४९ सालमा कर्मचारी आन्दोलनमा होमिएको आरोपमा उनको जागिर गयो। त्यसपछि उनी निरन्तर माओवादीमै सक्रिय रहे।
पार्टीमा हुँदा उनले कास्की, लमजुङ र गोरखाको इन्चार्ज भएर काम गरेका थिए। उनी माओवादीको केन्द्रीय सदस्य तथा ०५८ देखि गोरखाको इन्चार्ज हुन्। ०७० सालमा समानुपातिकबाट संविधानसभा सदस्य भएका धिताल प्रत्यक्षमा भने पहिलोपटक चुनाव लडेका थिए।
लिए शपथ
सभामुख धितालले प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिएका छन् । शनिबार दिउँसो ३ बजे सभामुखमा निर्वाचित भएसँगै बेलुका प्रदेश प्रमुख गुरुङबाट शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री खगराज अधिकारीको उपस्थिति रहेको थियो ।