काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
माघ १५ गते (आइतबार) दिनको १ बजे, पार्टी मुख्यालय सानेपामा बस्ने भनिएको बैठक विशेष कारणबस स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
केन्द्रीय समितिको बैठक बस्ने अर्को मिति तोकिएको छैन। मुख्य सचिव पौडेलले अर्को सूचना प्रकाशित नहुञ्जेल सम्मका लागि बैठक स्थगित भएको जानकारी दिए।
मंसिर ४ गतेको निर्वाचनपछि संघीय संसद्को सबैभन्दा ठूलो दल बन्दा पनि सरकार गठनमा उपयुक्त रणनीति बनाउन नसक्दा सत्ता बाहिर बस्नुपरेको भन्दै सभापति शेरबहादुर देउवाको आलोचना हुँदै आएको छ।
पार्टीको इतर (शेखर कोइराला) पक्षले ठूलो पार्टी हुँदा पनि सत्ता बाहिर बस्नुपर्ने स्थिति सिर्जना हुनुमा सभापति देउवा जिम्मेवार रहेको भन्दै केन्द्रीय समिति बैठकमार्फत् उनीमाथि दबाब बढाउने रणनीति लिएको छ। इतर पक्षको केही दिन अगाडि बसेको बैठकले केन्द्रीय समिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा छलफल समेत भएको थियो।
तर, सभापति देउवाले भने बैठक स्थगित गरेका छन्। अब अर्को बैठक कहिले बस्ने भन्ने निश्चित छैन। नेताहरुका अनुसार देउवाले राष्ट्रपतिको निर्वाचन नहुँदासम्म बैठक नगर्न चाहनुको कारण छ ।
पहिलो, अहिले बैठक बस्दा सत्ता गठबन्धन जोगाउन नसकेको अपजस खेप्नुपर्छ । यदि राष्ट्रपति कांग्रेसले लिन सक्यो भने ‘ड्यामेज कन्ट्रोल’ हुनेछ । त्यसैले उनको अहिलेको प्राथमिकता राष्ट्रपतिको नजिता पार्टीको अनुकुल बनाउनु छ । यसका लागि उनले उपसभापति पूर्णबहादुर खड्का लगायतका नेताहरुलाई प्रधानमन्त्री र माओवादी नेताहरुसँग संवाद गर्न खटाएका छन् ।
अर्को कारण चाहिँ माओवादी अध्यक्ष प्रचण्डलाई नचिढ्याउनु पनि भएको नेताहरु बताउँछन् । किनकी केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेस नेतृत्वको गठबन्धनसँग चुनाव लडेर एमालेसँग मिलेर सरकार बनाएकोमा प्रचण्डको आलोचना हुनसक्छ । यसले प्रचण्डलाई चिढ्याउने र राष्ट्रपति निर्वाचन पनि प्रभावित हुने भएकाले पनि देउवाले तत्काल बैठक राख्न नचाहेका हुन् ।