काठमाडौं- जिल्ला प्रशासन कार्यालय, गाेरखाका प्रमुख जिल्ला अधिकारी र साहयक प्रमुख जिल्ला अधिकारीकाे एकैचाटी माघ ६ मा सरूवा भयाे । गृह मन्त्रालयले गाेरखाका प्रजिअ र सहायक प्रजिअसहित ४२ जना प्रजिको सरुवा गर्यो। सरुवा सूची अनुसार जिल्ला प्रशासन कार्यालय, सिराहाका प्रमुख लालबहादुर कवारी यतिबेला जिल्ला प्रशासन कार्यालय, गोरखामा हाजिर हुनु पर्ने थियो । तर उनकाे सरूवा राेकिएकाे छ ।
गृह प्रशासनका पुराना कर्मचारी कबारी गोरखा जानलाई काठमाडौं आइसकेका थिए । तर, बुधबार एकाएक उनलाई गृह मन्त्रालय हाजिर हुन भनियो । त्यसपछि उनले थाहा पाए, उनको गोरखा सरुवा रद्द भइसकेको रहेछ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले चाहिँ ठ्याक्कै यही विषयका कारण सरुवा रोकिएको भन्ने थाहा नभएको बताए । उनले भने, ‘कहिले काहीँ व्यवस्थापन गर्दै जाँदा त्यस्तै हुन्छ ।’
गोरखा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएको जिल्ला पनि हो । त्यसैले पनि गोरखामा उनको स्वभाविक रुची हुने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
‘कवारी प्रतिकुल परेकैले अन्तिममा रद्द भएको हो’, एक अधिकारीले भन्छन्, ‘गृहमन्त्रीज्यूले धेरै सह–सचिवहरु चिन्नु हुँदैन, कर्मचारी प्रशासनबाट सरुवा भयो । तर, पछि बालुवाटारले थाहा पाएपछि समस्या देखियो ।’
गोरखामा यसअघिका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी दुवैको सरुवा भइसकेको छ । त्यसैले अहिले जिल्ला कारागार प्रमुख गणेश भट्टराईले निमित्त सीडीओको जिम्मेवारी सम्हालिरहेका छन् ।