काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुगेका हुन् ।
सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेलाई शुक्रबार अनागरिक ठहर गरेसँगै सत्ता साझेदार दलका शीर्ष नेताहरु छलफलमा जुटेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामछिाने नागरिकता विवादमा परेर पद गुमाएपछि नयाँ गृहमन्त्रीको खोजी सुरु भएको छ।
सर्वोच्चले अनागरिक ठहरसँगै उपप्रधान तथा गृहमन्त्री लामिछानेले शुक्रबार नै राजीनामा दिएका थिए। यस्तोमा देशभरको आन्तरिक सुरक्षा प्रशासन हाँक्ने नयाँ गृहमन्त्रीको खोजी भइरहेको छ।
रविले राजीनामा दिए पनि रास्वपाले गृहमन्त्रालय आफूहरुले नै पाउनुपर्ने अडान लिएको छ। रविको राजीनामापछि अहिले गृहमन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहेका छन्। गत पुस १० गते सत्ता साझेदारबीच भागबन्डाका क्रममा रविले गृह नपाएसम्म सरकारमै नजाने अडान लिएका थिए।
गृह नदिए सरकारमै नजाने रविको अडानपछि ओली र प्रचण्डको सल्लाहमा उक्त जिम्मेवारी दिइएको थियो। तर रविले पद गुमाएपछि प्रधानमन्त्री प्रचण्डले गृह कसलाई दिने भन्ने निर्णयमा पुगेका छैनन्। ०५० मा लिएको नागरिकता लिन निस्सा दिएपछि आइतवार जिल्ला प्रशासन काठमाडौंबाट रविले नेपाली नागरिकको हैसियता प्राप्त गरिसकेक छन्।
यस्तोमा रास्वपा संसदीय दलको नेताको पद पनि गुमाएका रवि ६ महिनाका लागि गृहमन्त्रीमा फर्किन सक्ने बाटो यथावत छ। तर उनलाई गृहमा फर्काएर ६ महिनाभित्र उपनिर्वाचनबाट सांसदमा नआए उनको संविधानत: फेरि जानेछ।
यो विवादबीच ओली र प्रचण्ड भावी गृहमन्त्रीको टुंगो गर्न जुटेका हुन्। यसअघि सरकारको नेतृत्वकर्ता दलले नै गृहमन्त्रालय लिने चलन थियो। तर सत्ता भागबन्डा मिलाउँदा यस पटक गृह रविले लिएका थिए।
तर यस पटक गृह आफैं राख्ने योजनामा प्रधानमन्त्री छन्। उता ओलीलाई भने गृह रास्वपालाई नै दिनुपर्ने दबाब छ। यो तनावबीच ओलीले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गर्दैछन्।
यो भेटमा यही महिना अन्तिम साता हुने भनिएको राष्ट्रपतिको निर्वाचनबारे पनि कुरा हुने बताइएको छ। माओवादीले गत पुस १० गते एमालेसँग भएको सहमतिबाहिर गएर राष्ट्रिय सहमतिको व्यक्ति राष्ट्रपतिमा खोज्नुपर्ने बताइरहेको छ।