काठमाडाैं- आइतबार मात्रै नेपाली नागरिकता पुनःप्राप्ति गरेर राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा चयन भएका रवि लामिछानेले पुरानै जिम्मेवारीमा फर्काउन प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गरेका छन्।
आइतबार साँझ साढे ७ बजे बालुवाटार पुगेका लामिछानेले दलको नेतृत्वमा रहेकाले सरकारमा पनि आफ्नै कमाण्ड हुनुपर्ने बताएका थिए ।नागरिकताको मुद्दा मिलेको बताउँदै उनले केही दिनमै राहदानीको विषय पनि सल्ट्याउने विश्वास दिएर प्रधानमन्त्रीलाई आश्वस्त तुल्याउन खोजेका छन्।
जवाफमा प्रधानमन्त्री प्रचण्डले सात दलीय सत्ता गठबन्धनभित्र सल्लाह र राय लिएर निर्णय गर्ने बताएका छन्। ‘गठबन्धनभित्र छलफल गरौँ, निर्वाचन आयोग र कानुनविदसँग पनि बुझौं,’ भेटमा प्रधानमन्त्रीले भनेका थिए, ‘अब यो विषयमा प्रतिक्रिया के आउँछ ? भोलि समस्या नपर्ने गरि निर्णय गर्नुपर्छ।’
खारेज भइसकेको नागरिकता प्रयोग गरेको मुद्दामा सर्वोच्च अदालतले शुक्रबार आदेश दिँदा रविले सांसद, उपप्रधान एवम् गृहमन्त्री र पार्टी सभापति सबै एकसाथ गुमाएका थिए।
आइतबार नागरिकता पुनःप्राप्ति गरेपछि उनले फेरि गृहमा फर्किने गरी पार्टीमा निर्णय गराइसकेका छन्। आइतबार नागरिकता लिएसँगै उनले रास्वपा सदस्य, केन्द्रीय सदस्य र पार्टी सभापतिको जिम्मेवारी एकै दिन लिइसकेका छन्।
अब उनी गैरसांसदको रुपमा ६ महिना मन्त्री बनेर फेरि चितव क्षेत्र नम्बर २ बाट उपनिर्वाचन जितेर आउने योजनामा छन्।