काठमाडौँ- प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालय फेरि दिन अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार साँझ सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्। प्रधानमन्त्री प्रचण्डलाई मंगलबार विहान बालुवाटार पुगेर भेटेका लामिछानेले ओलीलाई भेटेर आफ्नो कुरा राखेका हुन्।
गत पुस १० गते ओलीकै पहलमा सात दलीय गठबन्धनमा मिसिएका लामिछाने शुक्रबारसम्म गृहमन्त्रीका रुपमा थिए। तर उनले प्रयोग गरेको नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेपछि उनले एकै पटक सांसद, पार्टी सभापति र गृहमन्त्री पद पनि गुमाएका थिए।
तर आइतवार जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता लिएसँगै रवि फेरि गृहमन्त्रीको दौडमा छन्। उनले शुक्रबार र मंगलबार दुई पटक प्रचण्डलाई भेटेर गृहमन्त्रालयमै आफूलाई फर्काइदिन भनेका थिए।
तर गैरसांसद हैसियतमा रहेका रविको मुद्दाको फैसलाको पूर्णपाठ नआएसम्म प्रचण्ड उनलाई गृह दिन तयार छैनन्। माओवादी पदाधिकारीको मंगलबारको बैठकले पनि गृहमन्त्रालय प्रचण्ड आफैँले राख्नु पर्ने निष्कर्ष निकालेको थियो।
प्रचण्डले पनि पेरिसडाँडामा सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म गृहबारे थप कुनै निर्णय नहुने बताएका छन्।
प्रचण्डको अडानपछि रवि ओलीलाई भेट्न बालकोट पुगेका हुन्। जहाँ ओलीले यसअघि सत्ता साझेदार दलहरुबीच भएको समझदारीअनुसार नै अघि बढ्नुपर्ने जवाफ दिए।
‘हामीबीच जे समझदारी हो, त्यही कार्यान्वयन हुनुपर्छ’, रविसँगको भेटमा ओलीले भनेका थिए ।