काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तत्काल गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बुधबार विहान बालुवाटार पुगेका अध्यक्ष ओलीले एक/दुई दिनमै लामिछानेलाई गृहमन्त्री बनाउन भनेको स्रोतले जनाएको छ ।
यसअघि प्रचण्डले लामिछानेको नागरिकता सम्बन्धि मुद्दामा सर्वोच्च अदालतबाट जारी भएको आदेशको पूर्ण पाठ नआएसम्म गृहमन्त्रीबारे कुनै निर्णय नगर्ने बताएका थिए ।
आजको भेटमा पनि प्रचण्डले सोही धारणा दोहोर्याएको बालुवाटार स्रोतले जनाएको छ । अध्यक्ष ओलीले गठबन्धनमा गृहमन्त्रालय स्वतन्त्र पार्टीले पाउने सहमति यसअघि नै भइसकेको भन्दै तत्कालै कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।
ओलीले नागरिकताको विषय सुल्झिएकाले रविलाई गृहमन्त्री बनाउन आनाकानी गर्नुपर्ने कुनै कारण नरहेको भन्दै भोलिसम्म निर्णय लिन प्रधानमन्त्रीलाई दबाब दिएका छन्।
प्रचण्डले आफ्नो दलको निर्णय पनि सर्वोच्चबाट पूर्ण पाठ नआएसम्म गृहमन्त्री प्रधानमन्त्रीले नै राख्ने रहेको जनाउँदै यसमा धेरै दबाब नदिन ओलीलाई आग्रह गरेका थिए ।
यसअघि मंगलबार बेलुका लामिछानेले अध्यक्ष ओलीलाई भेटेर राष्ट्रपतिबारे छिटो निर्णय गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । मंगलबार विहान लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई पनि भेटेका थिए ।
प्रचण्ड र ओलीबीच राष्ट्रपतिको विषयमा पनि छलफल भएको छ । अध्यक्ष ओलीले पूर्व सहमति अनुसार राष्ट्रपति आफ्नो दलबाटै हुनुपर्ने अडान राखेका थिए । तर प्रचण्डले स्पष्ट जवाफ दिएनन् ।
प्रचण्डले राष्ट्रपति सेरोमोनियल पद भएकाले पार्टी भन्दा पनि व्यक्तिबारे छलफल गर्नुपर्ने बताएका थिए । जवाफमा ओलीले आफूले सबैलाई मान्य हुने नाम प्रस्ताव गर्ने भन्दै पूर्व सहमतिबाट नभाग्न प्रचण्डलाई आग्रह गरेका थिए ।