काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले बर्डफ्लुको जोखिम न्यूनीकरणका लागि कुखुरा फार्म नष्ट गरेका साना किसानलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले बर्डफ्लुको जोखिम न्यूनीकरणका लागि कुखुरा फार्म नष्ट गरेका साना किसानलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेका हुन्।
‘सयौंको संख्यामा साना किसानहरु कृषि मन्त्रालय धाइरहेका छन्। उनीहरु त्यहाँ पुग्छन्, रुन्छन्, कराउँछन्। यी तिनै किसानहरु हुन् जसले बैंकबाट ऋण लिएर सानासाना कुखुरा फार्महरु चलाएका थिए,’ थापाले भने, ‘बर्डफ्लुको जोखिम न्युनिकरण गर्नका लागि सरकारकै निर्णयबाट उनीहरुको कुखुरा फार्म नष्ट गरियो। नियम अनुसार यिनले पाउने क्षतिपूर्ति ५८ करोड छ। सरकार दिन्न भन्दैन, दिन्छु भन्छ। तर, दिँदैन, सरकार झुलाउँछ। किन सरकारलाई भ्याइनभ्याइ छ? तर, बैंकले यिनलाई अठ्याउँ छ।’
उनले बैंकको ऋणले थिचिएका साना किसानहरुले कुनै अप्रिय निर्णय नगर्ने बेलासम्म कुर्ने कि भनेर प्रश्न पनि गरे।
‘सरकारलाई मेरो प्रश्न छ, बैंकको ऋणले थिचिएका साना किसानहरुले कुनै अप्रिय निर्णय नगर्ने बेलासम्म कुर्ने हो? अनि अप्रिय निर्णय गरिसकेपछि आँशु बगाउँदै सहानुभूति प्रकट गर्दै छानविन गर्न समिति बनाउने हो कि?,’ थापाले प्रश्न गरे, ‘यस्तै निर्णय नहोस् भन्नका लागि ऋणले थिचिएका यि साना किसानहरुलाई जोगाउन सरकारले दिन्छु भनेको, दिनै पर्ने, निर्णय गरेको, केबल झुलाइमात्रै रहेको यो प्रपञ्चबाट बाहिर निक्लेर-निकालेर आफूले दिनुपर्ने रकम दिने हो?’