काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अहिले पानीबाहिरको माछा जस्तै छटपटाएको टिप्पणी गरेका छन् ।
सत्तापक्षीय उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका ओलीले आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस पानी बाहिरको माछा जस्तो छटपटाएको बताएका हुन् ।
कांग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको छ । सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव नेपाली कांग्रेससँग राम्रै छ’ उनले भने ।
उनले भने, ‘कांग्रेसले काम नै नगरेको हो कि अभिलेखीकरण नगरेको हो, उसको नेतृत्वमा सरकार भएका बेला गरिएका कामको दसी-प्रमाण भेटिएन।’
आफ्नो प्रधानमन्त्रीकालमा भएका कामको समेत फेहरिस्त प्रस्तुत गर्दै उनले नेपाली कांग्रेसले केही समय काम गर्ने तरिका आफूबाट सिक्नुपर्ने बताए। उनले कटाक्ष गरे, ‘अलिक समय हेर्नु-सिक्नु नि! अझै कांग्रेस सरकारमा आउन बल गरिरहेको छ।’
उनले वर्तमान सरकारले १० वर्षमा विकसित नेपाल बनाउने जिकिर गरे। कांग्रेसतर्फ व्यंग्य गर्दै उनले थपे, ‘कसरी बनाउँछौं हेर्नु नि अलि समय।’
उनले कांग्रेस पटक पटक सत्तामा आउँदा देश विकासबारे सोच्दै नसोचेको पनि बताएका छन्।
‘कांग्रेसले देश विकास सोचेको पनि छैन, देखेको पनि छैन र पढेको छैन’, उनले भने, ‘उहाँहरुकै अभिव्यक्तिले त्यो कुरा पुष्टि गरिरहेको छ।’
उनले अहिलेको प्रचण्ड नेतृत्वको सरकार राष्ट्र समृद्ध बनाउन लागिरहेको बताएका छन्।
उनले यो सरकारलाई तलमाथि गर्ने कोसिस नगर्न पनि कांग्रेसलाई चेतावनी दिए। ‘यो सरकारलाई तलमाथि गर्ने प्रयास लोकतन्त्र र जनताको पक्षमा पनि छैन’, उनले भने, ‘राम्रो काम गरेको अर्को वैकल्पिक शक्ति पनि छैन। त्यसैले यो सरकारलाई तलमाथि गर्ने कोसिस नगर्नू।’