काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कसैले खेदेर नडराउने भन्दै आउने चुनावमा प्रधानमन्त्री बनेर सरकारको नेतृत्व गर्नेगरी शक्ति आर्जन गर्ने बताएका छन् ।
पत्रकार सम्मेलनमा लामिछानेले भने, ‘कसैसँग नडराई यो पार्टी चलाउँछौं । आउने चुनावमा सरकार बनाउने गरी,उपप्रधान र गृह होइन प्रधानमन्त्री बन्ने गरी यो पार्टी अघि बढाउँछौ । १२ भाइ सम्पादकलाई यसले तनाव हुन्छ होला, अनि पासपोर्ट भन्छन् । तर म जेल गए पनि रास्वपा अघि बढ्छ । म मरे पनि बहुलाए पनि रास्वपा चल्छ ।’
सभापति लामिछानेले आफूलाई काम गर्ने मौका दिएकोमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिए । प्रचण्डले केही गर्ने अठोट राखेकाले आफूले साथ दिएको उनले बताए ।
लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने बताएका छन् ।
सरकारबाट बाहिरिने, तर समर्थन कायमै राख्ने पार्टीको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लामिछानेले भने, ‘उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा जान्नँ ।’ उनले सञ्चारमाध्यमहरुले आफूलाई निरन्तर खेदेको भन्दै आक्रोश समेत पोखेका छन् ।