काठमाडौं– अर्थतन्त्रमा संकट जारी रहेको अवस्थामा विदेशी विनिमय सञ्चिति बढेको छ। नेपाल राष्ट्र बैंकले पछिल्लो ६ महिनाको अवस्था सार्वजनिक गर्दै एक महिनामा ४८ करोड डलरले सञ्चिति बढेको जनाएको छ।
पछिल्लो ६ महिनामा विदेशी सञ्चिति बढेर १० अर्ब ३० करोड पुगेको छ। पछिल्लो पाँच महिनामा ९ अर्ब ८२ करोड डलर रहेकोमा ६ महिना पुग्दा ४८ करोड थपिएर १० अर्ब ३० करोड डलर पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
योसँगै कुल विदेशी सञ्चिति १३ खर्ब ३७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो ६ महिनामा शोधनान्तर स्थिति ९७ अर्ब १० करोडले बचतमा पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २४१ अर्ब २३ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७३ करोड ४४ लाखले बचतमा रहेको छ।
राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १० प्रतिशतले वृद्धि भइ २०७९ पुस मसान्तमा १३ खर्ब ३७ अर्ब २९ करोड पुगेको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ पुस मसान्तमा ८ प्रतिशतले वृद्धि भइ १० अर्ब ३० करोड कायम भएको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ पुस मसान्तमा १२ प्रतिशतले वृद्धि भइ ११ खर्ब ८३ अर्ब ३७ करोड पुगेको छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ पुस मसान्तमा ३.४ प्रतिशतले कमी आई १ खर्ब ५३ अर्ब ९१ करोड कायम भएको छ। २०७९ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ।