धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् । उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाकाे बहुमतले अस्वीकृत गरेको हो ।
मुख्यमन्त्ती नियुक्त भएको ३० दिनभित्र संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत पाउन नसकेर उनी पदमुक्त भएका हुन्। नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद विश्वासको मत दिन काठमाडौंबाट धनगढी नआएपछि उनी पदमुक्त्त भएका हुन्।
रावलले माघ २५ गते दिउँसो १ बजे विश्वासको मत लिने भनेर सभामुखलाई संसद बैठक बोलाउन पत्राचार गरेका थिए।
गत पुस २७ गते बेलुका ५ बजे एमालेका संसदीय दलका नेता रावल माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ सहित २९ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
उनले पुस २८ गते मुख्यमन्त्रीको सपथ लिएका थिए।
रावल नेतृत्वको सरकार ढलेसँगै अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने ढोका खुलेको छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा १९ सिटसहित कांग्रेस सबैभन्दा ठूलो दल हो।