काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले जनयुद्ध दिवसको नाममा सरकारले बिदा दिएर नेपाली राजनीतिमा जनयुद्धले पुर्याएको उच्चतम योगदानको सम्मान गरेको बताएका छन्।
सोमबार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बिदाले गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान भएको उल्लेख गरे।
उनले बिदालाई लिएर पूर्वाग्रह राख्नेहरुले जेसुकै भनेपनि संघीय सरकारले सार्वजनिक बिदा दिनुअघि नै मधेस, बागमती र कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएर जनयुद्ध दिवस मनाउने तयारी गरेको सुनाए। उनले जनताको जीवनमा परिवर्तनको अनुभूति गराउन नसके चुनौतिहरुको चाङ लाग्ने र परिवर्तनप्रति नै प्रश्न उठ्ने पनि बताए।
‘आज केन्द्र सरकारले दिएको बिदाले नेपाली राजनीतिमा जनयुद्धले पुर्याएको उच्चतम योगदानको सम्मान गरेको छ। गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान गरेको छ। यसमा पूर्वाग्रह राख्नेहरुले चाहे जे सुकै किन नभनुन्, संघीय सरकारले सार्वजनिक बिदा दिनुअघि नै मधेस, बागमती र कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएर जनयुद्ध दिवस मनाउने तयारी गरेको थियो’, उनले भने।
उपराष्ट्रपति पुनले संविधानलाई परिष्कृत परिमार्जन तथा संशोधन गरेर समृद्धि बनाउन र पूर्ण कार्यान्वयन गर्न अझै धेरै मेहनत गर्नुपर्ने बताए। उनले शान्ति सम्झौताको बाँकी कामलाई छिटो टुंगोमा पुर्याउन आवश्यक रहेको समेत बताए।