काठमाडौँ– नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन्।
बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भण्डारीले आयोगको कार्य सम्पादनमाथि नै प्रश्न उठाएका हुन्।उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम कार्डमा भ्रष्टाचार गर्नु अपराध हो भन्ने आवाज राखेको उल्लेख गर्दै त्यसरी आवाज सुनाउनुको ठाउँमा भ्रष्टचारीहरुको फाइल खोलेर कारबाही किन गर्न नसकेको भन्दै प्रश्न गरे।
उनले अयोगलाई भ्रष्टाचारीमाथि अनुसन्धान गरी कारबाही गर्न कसले रोकेको हो? भन्दै प्रश्न गरेका छन्। सांसद भण्डारीले नेपालमा नाटक चलिरहेको टिप्पणी गरे।
‘बिहान हामीले मोबाइलमा सुन्छौँ, भ्रष्टाचार गर्नु अपराध हो, अख्तियार अनुसन्धान आयोग। अख्तियारले फाइल खोजेर थुन्न कसले रोकेको छ र? दूरी राखेर बस्छ। त्यो के हो? यो नाटक, के नाटक, के का लागि नाटक? त्यसैले हामीले हाम्रो संसदलाई विभिन्न विषयहरुको छलफलको थलो बनाउनुपर्छ।’
सांसद भण्डारीले संसदलाई अबका दिनमा फरक तरिकाबाट जनमुखी नीति निर्माणको थलोका रुपमा अघि बढाउनुपर्ने पनि बताएका छन्।