तस्बिर : प्रदीपराज वन्त/रासस
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्। राष्ट्रपति निर्वाचनबारे छलफल गर्न ओली केहीबेरअघिमात्र बालुवाटार पुगेका हुन्।
उनीहरुबीच ‘वान वान’ वार्ता सुरु भएको छ। उनीहरूले आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा निर्णय लिनेगरी छलफल गर्न लागेको स्रोतले बताएको छ।
राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति नजिकिँदै जाँदा दलका शीर्ष नेताहरूले दौडधुप बढाएका हुन्। फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ।
नेपाली कांग्रेसले एक/दुई दिनभित्रै पुरानै पाँच दलीय गठबन्धन ब्युँतने दाबी गरेको छ।
राष्ट्रपति आफैंले भनेको उम्मेदवार हुनुपर्ने माग राखेको एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेपछि राजनीति थप तरगिंत भएको छ।
केहीदिन अघि कांग्रेसका सभापति शेरबहादुर देउवा शीर्ष नेताहरूलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपतिमा सघाउन आग्रह गरेपछि एमाले अध्यक्ष ओली झस्किएका छन्।
त्यो सफल हुन नदिन एमालेले नेपाललाई अघि सार्न खोजेको नेताहरुको बुझाइ छ।
एमाले अध्यक्ष ओली बालुवाटार पुग्नुअघि चिनियाँ राजदूत छन् सङले प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका थिए ।