काठमाडौँ- राष्ट्रपतिको उम्मेदवार चयनका लागि करिब साढे ३ घण्टा लामो बालुवाटार बैठक सहमतिबिनै सकिएको छ।
पुस १० गते भंग भएको पाँच दलीय गठबन्धनका दलहरुबीच राष्ट्रपतिलाई लिएर सहमति जुटाउन बसेको बैठकमा निष्कर्षमा नपुगी सकिएको हो।
बैठकपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुले राखेको र अन्य दलहरुबाट आएका प्रस्तावमा छलफल भइरहेको बताए।
‘राष्ट्रपति निर्वाचनलाई लिएर कांग्रेसले माओवादी समाजवादी र जसपासँग पनि छलफल गरिरहेको छ। अन्य दलहरु पनि छलफलमा छन्’, उनले भने, ‘अहिले बिहान पनि हामी चारवटा दल एक ठाउँमा बसेर छलफल गर्यौँ। विभिन्न विकल्पमा छलफल भएको छ। सकारात्मक दिशामा छलफल भइरहेको छ। अहिले आ-आफ्नो दलभित्र छलफल गर्ने गरी उठेका छौँ, फेरि ५ बजे बस्ने छौँ।’