काठमाडौं– सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रतिपक्षमा रहेका नेपाली कांग्रेससहितका ८ दलले नयाँ गठबन्धन बनाएका छन् र, राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् ।
शुक्रबार साँझ बसेको ८ दलको बैठकमा प्रधमनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपतिको चुनावमा समर्थन गर्ने प्रस्ताव राखेका थिए । यो नयाँ राजनीतिक यात्रा सुरुवात हुने उनको तर्क थियो ।
प्रचण्डको प्रस्तावमा माओवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी जसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।
एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वाला भन्छन्, ‘राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने टुंगो लागेको छ । उम्मेदवारका सन्दर्भमा कांग्रेसले निर्णय गर्छ ।’
राष्ट्रपतिमा रामचन्द्र पौडेल
संसदको सबैभन्दा ठूलो दल भएर पनि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले राष्ट्रपतिमा ‘राजनीतिक बाजी’ मारेको छ । राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारले सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहित ७ दलको समर्थन पाउने भएका छन् ।
राष्ट्रपतिको उम्मेदवार तय गर्न कांग्रेसले भोलि बिहान साढे ८ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौलाको दाबी छ ।
यस्ताे अंकगणित
माओवादी केन्द्रसहितका दलको समर्थन पाएपछि राष्ट्रपतिको चुनावमा कांग्रेसको जित पक्का जस्तै छ ।
संघीय र प्रदेश सभाका सांसदको मतदानबाट राष्ट्रपति हुन कुल ५२ हजार ६२८ मत भारमा ५० प्रतिशत बढी अर्थात २६ हजार ३१५ मतभार पुर्याउनु पर्दछ ।
कांग्रेससँग १६ हजार १४२, माओवादीसँग ७ हजार ७४५, एकीकृत समाजवादीसँग दुई हजार ५७४, जसपासँग दुई हजार १४५ मतभार छ । जनमत, नागरिक उन्मुक्ति, लोसपा र राष्ट्रिय जनमोर्चा पनि थपिएकाले २५ फागुनमा हुने निर्वाचनको नतिताप्रति कांग्रेस ढुक्क छ ।