काठमाडौं– राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले पार्टीको मात्रै राष्ट्रपति भएको आरोप लगाएकी छन्। भण्डारीले कार्यकारी अधिकार प्रयोग गर्न खोजेको पनि अर्यालको आरोप छ।
बिहीबार सिंहदरबास्थित आफ्नो कार्यकक्षमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको कुराकानीमा उनले एमाले नेतृत्वको सरकारले जुनकुनै विधेयक लगेपनि पास गर्ने तर अन्य पार्टीका सरकारले लगेको विधेयक पास नगर्ने गतिविधिहरूका कारण राष्ट्रपति एमालेको मात्रै भएको टिप्पणी गरिन्।
उनले नागरिकता विधेयक राष्ट्रपतिले संसद्बाट दुई पटक पास गरेर लैजाँदा समेत फर्काउनु गलत भएको दाबी गरिन्। अर्यालले दुई पटक लैजाँदा समेत विधेयक पास नगर्नु पीडादायी रहेको उल्लेख गरिन्।
उपाध्यक्ष अर्यालले राष्ट्रपतिले राष्ट्रपति जस्तो पदमा बसेर अरुको इसारामा नागकिरता विधेयक रोकेको दाबी गरिन्। राष्ट्रपति भइसकेपछि सबै पार्टीलाई अभिभावकत्वको हिसाबले हेर्नुपर्नेमा त्यसो नगरेको अर्यालको टिप्पणी छ। उनले राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको सवालमा कार्यकारी अधिकार नै प्रयोग गर्ने हिसाबले अघि बढेको आरोप लगाइन्।
‘नागरिकताको समस्या झेलिरहेका युवायुवतीहरू हामी आत्महत्या गरेर मरौँ कि के गरौं भन्छन्। बिजोग छ। यहाँ कस्तो कस्तोले नागरिकता पाए त्यो बेलामा हाम्रै देशको सन्तानले पाउनुभएको छैन। दुई दुई पटक पठाउँदा फर्काउनुभयो राष्ट्रपतिले। त्यो पीडादायी छ, कसको इसारामा फर्काउनुभयो’, अर्यालले भनिन्, ‘राष्ट्रपति भइसकेपछि राष्ट्रको अभिभावको हैसियतले पार्टीको स्तरभन्दा माथि उठेर छलफल गर्नुपर्छ। एक चोटी फर्काउनु ठLक छ, तर दोस्रो पटक पठाएपछि पनि फर्काउनु भनेको संवैधानिक पदमा रहेको मान्छेले त्यस्तो गर्न मिल्छ र? उहाँ सधैँ एमालेको मात्रै राष्ट्रपति भइराख्नुभयो। त्यहाँ जे सल्लाह हुन्छ त्यही मात्रै गर्ने, एमालेले लगेको विधेयक ओके गर्ने, कानुन बनेर जाँदा रिजेक्ट गर्न मिल्छ र? संवैधानिक पदमा रहेका व्यक्तिहरूले राम्रोसँग मर्यादा राख्न सकेनौँ भने भोलि नजिर गलत तरिकाले जान्छ।’