काठमाडौं– माओवादी पृष्ठभूमिबाट जन्मिएका पार्टीहरुको पुन: एकतामा डा बाबुराम भट्टराईले केही सर्त तेर्स्याएका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका नेता नेत्रविक्रम चन्दा विप्लव सी समेत रहेको कार्यक्रममा उनले नेतृत्व हस्तान्तरण र माओवादी नामको मोह त्याग्न प्रस्ताव गरेका हुन्।
उनले भने, ‘एकताको प्रस्ताव गर्दै गर्दा हामीले अलिकित आत्मालोचना गर्नैपर्छ। हामीले आजीवन नेतृत्वमा बस्ने र कुर्सीमै टाँसिएर मर्ने प्रवृत्ति त्यागौं। जनयुद्धकालमा पनि भनेका हौं- मरुजेलसम्म पदमा बसेर स्टालिनले गल्ती गर्नुभयो। माओले गल्ती गर्नुभयो। संसारभरका कम्युनिस्टले त्यही गर्दा नयाँ नेतृत्व बेलैमा विकास हुन सकेन। पुस्तान्तरण हुन सकेन।’
आफूले त्यही कारण यसपल्ट गोरखा २ बाट चुनाव नलडेको बताउँदै नयाँ पुसता र विचारको पक्षमा आफू रहेको बताए। ‘मलाई जत्ति गाली गर्नुहोस् तर नयाँ पुस्ता आउनुहोस्। म ७९ वर्षको भइसकें। फेरि किन प्रधानमन्त्री हुने? एकचोटी भएपनि, १० चोटी भएपनि त्यही फोटो टाँस्ने हो।’
पार्टीलाई जनवादीकरण गर्ने हो भने नयाँ एकता सम्भव रहेको उल्लेख गरे। तर पार्टी एक गर्दा माओवादी नामको पुच्छर हटाउन प्रस्ताव गरे। माओवादी पृष्ठभूमिमा गर्व जरुर छ। आपत्ति होइन तर फेरि माओवादी भनेर पुच्छर राखेर पार्टी बनाउन सकिदैन। फुर्काहरुप्रतिको मोह राख्नुहुँदैन। हामी भौतिकवादी र द्वन्द्ववादी हुने हो र त्यसका आदिम गुरु मार्क्स नै हुन्। लेनिन पछिका हुन्। मरेकै ४० वर्ष भन्दा बढी भइसक्यो।’
राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिको मूल्यांकन गरेर बहस गर्नुपर्ने बताउँदै सुरुमा एक ठाउँ जम्मा हुन आवश्य रहेको बताए। ‘मिल्न सक्नेहरु एकै ठाउँमा जाउँ। कार्यगत एकता गरौं,’ उनले भने, ‘हाम्रो क्रान्तिलाई आपराधिकरण गर्ने काम भएको छ। बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने काम भएको छ। त्यो निर्णय गर्ने भनेको जिस्केको हो। सडकमा निस्किन सकिन्छ।’