पूर्वी नवलपरासी । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको सत्ता नेपालीले नभएर अरु कसैले चलाइरहेको जिकिर गरेका छन् । उनले सत्ता चलाउने गैरनेपाली ‘अरु कोही’ बारे भने केही स्पष्ट पारेनन् ।
शनिबार प्रेस सेन्टर पूर्वी नवलपरासीको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै यस्तो उनले भने, ‘देश अरु कसैले चलाइरहेको छ । प्रचण्ड, ओली र देउवा त पात्र हुन् ।’
सत्तारुढ दल माओवादी केन्द्रका वरिष्ठ नेता तथा पूर्वगृहमन्त्री रहेका उनले अगाडि थपे, ‘हुन त हाम्रै अध्यक्षको नेतृत्वमा सरकार छ, तर पनि हाम्रो बिडम्वना यही हो, जो प्रधानमन्त्री भए पनि हुने यही हो ।’
सम्बोधनको क्रममा महराले लोकतन्त्र र संविधानमाथि अझै खतरा कायम रहेकाले यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए । उनले भने, ‘अझै पनि प्रतिगामीहरु टाउको उठाउन खोज्दैछन्, यसलाई निस्तेज गर्नुपर्छ ।’