काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दश दलीय गठबन्धनको साझा न्यूनतम कार्यक्रम यसअघिकोभन्दा परिस्कृत र राम्रो आएको बताएका छन्।
बिहीबार सिंहदरबारमा आयोजित साझा कार्यक्रम सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले पहिलेको साझा न्यूनतम कार्यक्रममा उल्लेख राम्रा कुरालाई अहिले पनि निरन्तरता दिइएको बताए।
‘म प्रधानमन्त्री भएपछि सात दलीय गठबन्धनले यो कार्यक्रम ल्याएको थियो। त्यसलाई पनि अध्ययन गरेर राम्रा कुरा व्यवस्थित र परिमार्जित रूपमा ल्याएका छौँ’, उनले भने।
उनले दश दलका नेताहरूसँगै सात दलीय गठबन्धनका नेताहरूको पनि दिमाग लागेकाले न्यूनतम कार्यक्रमलाई राष्ट्रिय सहमतिकोभन्दा फरक नपर्ने दाबी गरे।
‘अहिले दश दलका नेताले दिमाग लागेकै छ। पहिलेको गठबन्धनका पार्टीको पनि दिमाग यसमा लागेको छ’, उनले भने, ‘यसलाई राष्ट्रिय सहमतिको साझा न्यूनतम कार्यक्रम भने फरक पर्दैन।’
दाहालले सरकारबाट जनताले धेरै आशा गरेको बताउँदै त्यसलाई पूरा गर्न नयाँ प्रतिबद्धता चाहिएको बताए।
त्यहीकारण न्यूनतम कार्यक्रममा समेटिएका विषय कार्यान्वयनका लागि गठबन्धनका सबै दलले जोड गर्नुपर्ने उनले बताए।
‘यसअघिकोभन्दा यो अलिक राम्रो भन्ने प्रतिक्रिया पाएको छु। यसको इमान्दार कार्यान्यनमा गठबन्धनका सबै दल लाग्नुपर्ने छ’, उनले भने, ‘मन्त्रालयहरूले पनि यहीअनुसार कार्ययोजना ढालेर कार्यान्वयन गर्न जरुरी छ।’