गाेरखा– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालको १०० दिन राजनीतिक उतारचढावमै बितेको बताएका छन्।
संसदमा गठबन्धन दलभित्रकै नेताले सरकार दौडिन सकेन,सुस्त भयो र प्रधानमन्त्री फुर्सदिलो भए भनेर टिप्पणी गरिरहँदा प्रधानमन्त्री प्रचण्डको यो स्वीकारोक्ति आएको हो। संसदमा उनको खोजी भइरहँदा उनी शुक्रबार आफ्नो निर्वाचन क्षेत्र गोरखामा थिए।
गोरखामा प्रधानमन्त्रीले सरकारको नेतृत्व लिएको १०० दिनसम्म काम गर्न नसकेको पनि स्वीकार गरेका छन्। गोरखा अस्पतालको स्वर्ण जयन्ती समारोहमा सहभागी भएका उनले अब विकास निर्माणसँगै सरकारको अन्य कामले तीव्रता पाउने आश्वासन चाहिँ दिएका छन्।
‘सरकारको एक सय दिन राजनीतिक रूपले हेर्दा धेरै उतार चढावमै बित्यो’ उनले भने, ‘तर जहाँ गएर ल्यान्ड हुनुपर्ने थियो त्यहीँ ल्यान्ड भयो, यो तपाई हामी सबैका निम्ति खुशीको कुरा हो। अब सरकार दौडीन शुरु गर्दैछ।’
उनले सरकारले पूर्णता पाइसकेको र राजनीतिक स्थिरता समेत कायम भइसकेकाले अव कामले गति लिने बताए। गोरखाबाटै निर्वाचित भएर आफू प्रधानमन्त्री भएकाले पनि गोरखाको विकासका निम्ति आफूले सक्दो पहल गर्ने बताए।
उनले यहीँबाट निर्वाचित गरेको जनप्रतिनिधि प्रधानमन्त्री हुने, यहीबाट निर्वाचित नेता उपप्रधानमन्त्री एवं गृहमन्त्री हुने, यहीबाट निर्वाचित जनप्रतिनिधि अव सायद केही समयमा मुख्यमन्त्री हुने, अवस्था रहेको भन्दै यति हुँदा पनि अव काम भएन भने जनतामा निराशापन आउने बताए।
नीति, कार्यक्रम र बजेट निर्माणको चरणमा आफूहरू रहेको बताउँदै उनले परम्परागत विकासको मोडेलमा केही नयाँपन ल्याउने तयारी पनि भइरहेको जानकारी गराए । प्रधानमन्त्री प्रचण्डले अस्पतालमा रहेको आईसीयू कक्षको पनि उद्घाटन गरेका छन्।
गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेससागर भुसालले जिल्लाका समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। उत्तरी गोरखाको सिर्दिवासमा संरचना सुधार गर्न नसकेको र सेवालाई सूचना प्रविधिमा जोड्न नसकेको उनले सुनाए।