तनहुँ– वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट तनहुँ १ मा उम्मेदवारी दिएका डा. स्वर्णिम वाग्लेले उपनिर्वाचन परिवर्तनकारी र यथास्थितिवादीबीचको लडाइँ भएको बताएका छन् ।
आइतबार तनहुँको दमौलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै वाग्लेले यस्तो बताएका हुन् ।
‘यो निर्वाचन सिर्फ कर्मकाण्डीमात्रै होइन, यो परिवर्तनकारी र यथास्थितिवादीबीचको लडाइँ हो र यो लडाइँ हामीजस्ता परिवर्तनकामीहरूले लित्नुपर्छ,’ उनले भने ।
उनले रास्वपाबाट डा. स्वर्णिम वाग्लेलाई जिताइयो भने व्यवस्था धरापमा पर्छ भन्ने भाष्य स्थापित गर्न खोजिएको भन्दै त्यसको प्रतिवाद गरे ।
खासगरी कांग्रेसका नेता/कार्यकर्ताहरूबाट त्यस्तो हल्ला फिँजाइएको उल्लेख गर्दै उलने भने भने, ‘म को हुँ, रास्वपा के हो ? हामीले यो व्यवस्थालाई स्वीकार गरेर आएको होइन । हामी यो व्यवस्थालाई एक इन्च तलमाथि गर्दैनौँ ।’
उनले कांग्रेसका नेता/कार्यकर्ताहरूले आफूले जितेमात्रै लोकतान्त्रिक हुने र अरुले जिते अलोकतान्त्रिक भन्ने भाष्य पनि सिर्जना गर्न खोजेको आरोप लगाए ।
‘मैले जितेँ भने मात्रै लोकतान्त्रिक हुने र अरुले जिते भनेचाहिँ अलोकतान्त्रिक हुन्छ भन्नु कति जायज हो ? हेर्नूस् त साथीहरूले कस्तो भाष्य सिर्जना गर्न खोज्दैछन् ?,’ वाग्लेले भनेका छन् ।
उलने रास्वपा वैकल्पिक शक्तिका रूपमा उदाएको पार्टी भएको र त्यसलाई जनताले अनुमोदन गरिसकेको दाबी गरे ।