तनहुँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँ क्षेत्र -१ का उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिएका छन् ।
बुधबार तनहुँ १ मा पर्ने डुम्रेबजारमा आयोजित चुनावीसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईहरुले रामचन्द्रजी जस्तै गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराई रूख चिह्नमा मतदान गरेर विजयी गराउनुस् । बाँकी काम शेरबहादुर देउवाजीले जिम्मा दिइसक्नुभयो । म शेरबहादुर देउवाजीसँगै छु । मन्त्री बनाउने जिम्मेवारी मेरो भएको घोषणा गर्दछु। किनकी प्रधानमन्त्री अहिले म भएको छु ।’
उनले नेपालमा सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको भन्दै त्यसलाई पूर्णता दिन आफूहरु प्रतिबद्ध रहेको प्रचण्डले बताए । मुग्लिन पोखरा सडकको काम सुस्त गतिमा भएकाले जनताले असजिलो महसुस गरेको भन्दै प्रचण्डले यसलाई तीव्रता दिइने बताए ।
कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको विकासको जिम्मा आफूहरुले लिने बताए । ‘तनहुँ ऐतिहासिक महत्व बोकेको जिल्ला हो, राष्ट्रपति रामचन्द्र पौडेलको गृहजिल्ला पनि हो, गोविन्द भट्टराईलाई जिताउनुहोस्, उहाँ योग्य उम्मेदवार हो । उहाँले प्रस्तुत गरेका सबै विकासको कामको जिम्मा हाम्रो भयो’, देउवाले भने ।
एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीति सही दिशामा लैजान अहिलेको गठबन्धन प्रतिबद्ध रहेको बताए । ‘त्यसका लागि पनि वैशाख १० गतेको उपनिर्वाचनमा तनहुँका जनताले सही निर्णय गर्नुपर्नेछ’, नेपालले भने ।