काठमाडौँ- चुनावका दिन भोलि बिहान मुग्लिनदेखि तनहुँको मादी नदीसम्मको सडकखण्ड पूर्ण रुपमा बन्द गरिने भएको छ।
तनहुँ क्षेत्र नं १ मा हुने उपनिर्वाचनका कारण बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरिने तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।
सुरक्षा संवेदनशीलताका कारण सडक बन्द गर्नुपरेको रिजालले बताए। दमकल, एम्बुलेन्सलगायत अत्यावश्यकबाहेकका सबै सवारीसाधन ठप्प गरिने भएको छ।
यो निर्वाचन क्षेत्रमा ५ वटा पालिका पर्छन्। देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, भानु नगरपालिका र व्यास नगरपालिकाका वडा नं ५ र ६ बाहेकका वडा पर्छन्। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ।
सबै मतदान केन्द्रमा मतदानका सामग्री ढुवानी भइसकेको छ। कर्मचारी पनि पुगिसकेको प्रजिअ रिजालले जानकारी दिए। तनहुँको एउटा निर्वाचन क्षेत्रमा चुनावी सुरक्षाका लागि २ हजार ६ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ।
उपनिर्वाचनमा पनि नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी र नेपाली सेना पनि परिचालन गर्न लागिएको हो। जिल्लामा १० वटा मतदान केन्द्रलाई सुरक्षा संवेदनशील क्षेत्रका रुपमा हेरिएको छ। सुरुमा तीनवटा मात्रै मतदान केन्द्र सुरक्षाका हिसाबले संवेदनशील रहेको भनिए पनि अहिले यो संख्या १० पुगेको प्रजिअ रिजालले बताए। ती मतदान केन्द्रमा थप सुरक्षाकर्मीको व्यवस्था गरिएको छ।
यसअघिको निर्वाचनमा भन्दा अहिले सुरक्षाकर्मी पर्याप्त रहेकाले सुरक्षामा कुनै कमी नहुने पनि रिजालले दाबी गरे। मतदान केन्द्रभित्र नेपाल प्रहरी परिचालन गरिनेछ। त्यसबाहिर सशस्त्र प्रहरी र बाहिरी गस्ती नेपाली सेनाले गर्ने छ। सबै सुरक्षा निकायले मोबाइल गस्ती गर्ने छन्। यस्तै ठाउँठाउँमा रिजर्भ टोली पनि राखिने भएको छ।
तनहुँमा आइतबार राति १२ बजेसम्ममा मतपेटिका संकलन भइसक्ने प्रजिअ रिजालले बताए।
यसअघि यो क्षेत्रबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन हुन लागेको हो। यहाँ नेपाली कांग्रेसका गोविन्द भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र एमालेबाट रमेश खरेल मुख्य प्रतिस्पर्धी हुन्।