काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश गम्भीर ढंगले प्रतिगमनतिर गइरहेको बताएका छन्।
शनिबार नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५ औं वर्षगाँठको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन्।
उनले ठूलो क्रान्तिकारी पंक्ति सत्तामा गइसकेपछि भ्रष्टीकरण भइसकेको उल्लेख गर्दै दक्षिणतिर गम्भीर तरिकाले प्रतिगमनरुपी हावा बगिरहेको पनि बताए।
‘यो संविधान र हाम्रो लोकतन्त्र आधा गिलास भरिएको आधा गिलास खाली हो। अब हामीले गर्ने के हो भने यो आधा गिलासलाई जोगाउने हो,’ उनले भने, ‘अब आधा गिलास पनि रिस उठेर घोप्ट्याउँछु भन्न थाल्नुभयो भने हेर्नुहोला के भइरहेको छ अहिले। पुराना शक्तिले त गरि खाँदै खाँदैनन्। हाम्रै पनि एउटा ठूलो क्रान्तिकारी पंक्ति सत्तामा गइसकेपछि भ्रष्टीकरण भइसकेको छ।’
उनले वैचारिक ढंगले अग्रगामी सोचका बिरुद्धमा प्रतिगमनकारी हावा बगिरहेको भन्दै पछिल्लो अवस्थामा डरलाग्दो बनेर देखिएको बताए। पूर्वप्रधानमन्त्री भट्टराईले देश भित्र पनि विभिन्न ढंगले चर्चाका आधारमा मात्रै नयाँ शक्तिहरुको उदय हुनु भनेको राम्रो संकेत नरहेको बताए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी र रास्वपा सभापति लामिछानेप्रति इंगित गर्दै विचारधारा र सिद्धान्त नभएका मान्छेहरु राजनीतिमा आइरहेको बताए।
‘त्यत्तिकै म आएपछि चकाचक गरिदिन्छु, भनेर मान्छे आएर उफ्रिन्छ, गरिब जनता विदेशतिर पलायन भएका जनता त्यसलाई नै ताली पिट्छन्। के त्यो जादुगर हो? यस्ता चटके, जसको सिद्धान्त कुनै छैन, तर जनतामा असन्तुष्टि देखाउन नेतालाई गाली गर्ने, सबैलाई गाली गर्ने, प्रतिशोध राख्न खोज्ने र म आएपछि ठिक गर्दिन्छु भन्नेछन्,’ भट्टराईले भने, ‘यसले ठूलो प्रतिक्रान्तिको आधार तयार गर्दैछ। त्यसैले बेलैमा सबै आरोप प्रत्यारोपमा भन्दा छलफल गरौँ।’
उनले सभापति लामिछानेले रातारात जादु गर्छु जस्तो गरी अभिव्यक्ति दिइरहेको भन्दै चटके मानिसहरुको बारेमा समाजे बेलैमा बुझ्न जरुरी रहेको पनि बताए। नयाँ पार्टीहरूले ठूलो प्रतिक्रान्तिको आधार तयार पारिरहेको उनले उल्लेख गरे।