काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको नाम राख्दैमा कोही कम्युनिस्ट हुन नसक्ने भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पनि सस्तोमा बिक्री भइसकेका कम्युनिस्ट भएको टिप्पणी गरेका छन् ।
शनिबार कम्युनिस्ट पार्टी स्थापना दिवस तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उनीहरूले कम्युनिस्ट पार्टीको झन्डा राख्नु नै बेकार भएको बताए। उनले एमाले समाप्त पार्न दुनियाँसँग सस्तोमा बिकेकाे भन्दै प्रचण्ड र नेपालको विरोध गरे ।
उनले जन्मैदेखि कम्युनिस्ट पार्टीविरुद्ध प्रहार भएको,लाठी, जेलनेल दमन र षड्यन्त्र भएको भन्दै अहिले पनि प्रचण्ड-माधव कम्युनिस्ट सिध्याउन लागिपरेको बताए ।
‘कम्युनिस्ट पार्टी बचाउन हामीले बलिदान दिनुपर्यो, अनेक दुःख कष्ट झेल्नुपर्यो’, ओलीले भने, ‘तर पनि आन्दोलन बढिरहेको बेला भयानक आक्रमण ०७७ सालमा भयो । त्यो साल कम्युनिस्ट पार्टीका लागि ठूलो षड्यन्त्र प्रयोग गरेर प्रतिक्रियावादीले हामीमाथि प्रहार गरेको वर्ष रह्यो ।’
ओलीले भने जस्तै ०७७ सालमा प्रचण्डसङ्गको एकता टुटेको र माधव नेपालसहितका नेताहरू एमालेबाट विद्रोह गरेर फरक पार्टी बनाएका थिए ।
पार्टी एकीकरण गरेर दुई तिहाइ बनाउँदा पनि टुप्पामा बस्ने नेताहरूलाई सहिसक्नु नभएर उनीहरू विकेको उनको भनाइ थियो।
प्रचण्ड-माधवप्रति लक्षित गर्दै ओलीले भने, ‘यतिकै उनीहरूले कम्युनिस्ट पार्टी ध्वस्त पारेको होइन होला, कुनै कारणविना कम्युनिस्ट पार्टी ध्वस्त पारेको होइन होला, सस्तो मूल्यमा बिके । के कस्तो मूल्य पाए त्यो उनै जानून्’- ओलीले भने ।