काठमाडौँ– सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ सरकारमा सहभागी दलका नेताहरूको बैठक बसेको थियो।
‘सत्ता गठबन्धनको बैठकले भोलिदेखि चल्ने संघीय संसदको बैठक व्यवस्थित रुपमा कसरी अघि बढाउने भन्नेबारेमा कुराकानी भयो,’ बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने।
साथै, अहिले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने कुनै संवैधानि व्यवस्था नभएको पाण्डेले बताए। ‘अहिले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छैन,’ पाण्डेले भने।
शनिबारको बैठकमा भोलिबाट चल्ने संसद बैठकमा व्यवस्थित रूपमा प्रस्तुत हुने विषयमा छलफल भएको जनाइएको छ। सत्ता गठबन्धनको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए।
सो छलफलबारे भएको विषयवस्तुबारे पनि केहीबेर सत्ता गठबन्धनको बैठकमा पनि कुरा उठेको थियो। पाण्डेका अनुसार आजको बैठकमा सरकारको सिद्धान्त र प्राथमिकताकाबारे छलफल भएको थियो।
‘अब हामीले भोलिकै बैठकमा सरकारको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने कार्यक्रम रहेको छ,’ उनले भने, ‘अहिलेको बजेटमा के बारेमा प्राथमिकता दिने भन्नेबारेमा प्रधानमन्त्रीले सत्ता गठबन्धनमा रहेका मुख्य दलका नेताहरूसँग छलफल गर्नुभयो।’