काठमाडौं– नेपाल टेलिकमले ‘नमस्ते पे’ को क्यूआर भुक्तानी सुरु गरेको छ ।
कम्पनीले सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरमा क्यूआरमार्फत भुक्तानीको सुबिधा संचालनमा ल्याएको हो । सेवालाई आगामी दिनमा अन्य कार्यालयमा समेत विस्तार गरिने कम्पनीले बताएको छ ।
सोमबार एक कार्यक्रमका बीच क्यूआर सेवाको शुभारम्भ बागमती प्रदेशकी निर्देशक सविना मास्के प्रधान र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराज पोखरेलले क्युआर सम्बन्धी सम्झौता पत्र आदानप्रदान गरेका हुन् ।
त्यस्तै, प्रयोगकर्ताले क्यूआरमार्फत भुक्तानी गरे बापत आफ्नो वालेटमा १० प्रतिशत क्यासब्याक पाउने व्यवस्थासमेत गरिएको जनाइएको छ ।
कार्यक्रममा बोल्दै निर्देशक प्रधानले भने, ‘नेपाल टेलिकमले आफ्नो काउन्टरहरुमा डिजिटल भुक्तानीलाइ प्रोत्साहन गर्न पहिलो पाइला चालेको छ । प्रयोगकर्ताहरूले अब नमस्ते पे को क्युआर प्रयोग गरेर बिल तिर्न सक्नु हुनेछ । अब प्रयोगकर्ताहरूले नगद झिक्न बैंकमा जानु पर्ने झन्झटलाई कम गरी बिल भुक्तानीलाई सजिलो र छिटो बनाउन मद्दत गर्नेछ ।’
त्यस्तै, डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराज पोखरेलले भने, ‘डिजिटल भुक्तानी सेवा प्रदान गर्ने अवसर पाएकोमा हामी खुशी भएका छौ र आगामी दिनमा थप सहकार्य गर्न प्रोत्साहित भएका छौँ । यसले नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने छ ।
आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने छ ।’