काठमाडौं- नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई व्यङ्ग्य गरेका छन् । बिहीबार जारी संसद् बैठकमा प्रश्न गर्नुपूर्व पन्तले प्रधानमन्त्री प्रचण्डलाई ‘ह्यान्डसम देखिनुभएको छ’ भन्दै व्यङ्ग्य गरेका हुन् ।
‘आज धेरै दिनपछि देखेर होला, प्रधानमन्त्रीज्यू मेरो आँखालाई भ्रम परेको त होइन होला । प्रधानमन्त्रीज्यू, पहिलेभन्दा ह्यान्डसम ह्यान्डसम देखिनुभएको छ,’ पन्तले रोष्ट्रममा उभिएका प्रधानमन्त्री प्रचण्डतर्फ हेर्दै भने ।
जनता पनि प्रधानमन्त्रीजस्तै खाइलाग्दा र ह्यान्डसम देखिनुपर्ने भनाइ पन्तको थियो । ‘झन् दौरा-सुरुवाल लगाएर आउनुभएको छ, खाइलाग्दो पनि देखिनुभएको छ । कामना छ प्रधानमन्त्रीज्यू, जत्ति खाइलाग्दो देखिनुभएको छ नेपाली जनता पनि छिट्टै त्यस्तो खाइलाग्दो देखिऊन्,’ उनले भने ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले प्रशंसा हो कि व्यङ्ग्य हो भनेर सोध्दै धन्यवाद भने । ‘माननीय सदस्यले मेरो अलिक धेरै नै प्रशंसा हो कि व्यङ्ग्य के भन्ने हो, त्यसका लागि धन्यवाद,’ उनले भने ।
उनले आफूलाई खाइलाग्दो देखिएको छु भन्ने नलागेको बताए । ‘म धेरै खाइलाग्दो छु भन्ने लागेको छैन । मेरो तौलचाहिँ घटिरहेकोछ । देख्दाखेरि तपाईंले राम्रो देख्नुभएछ । तपाईंको आँखालाई पनि धन्यवाद,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।
पहिले प्राय: सर्ट-पाइन्टमा देखिने गरेका प्रधानमन्त्री प्रचण्ड पछिल्लो प्रधानमन्त्रीकालमा औपचारिक फोरमहरूमा दौरा-सुरुवालमै देखिने गरेका छन् ।