काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू मन्त्री बनेको ७ दिनभित्र ३ करोडको प्रस्ताव आएको खुलासा गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यसबारे खुलासा गरेका हुन् ।
वायु सेवा निगमको महाप्रबन्धक (जीएम) फेर्नुपर्ने त्यसबापत् आफूलाई चरणबद्धरूपमा ३ करोड दिने प्रस्ताव आएको उनले बताएका छन् । ‘वायु सेवा निगमको जीएम फेरौँ तपाईंलाई टोकन मनी १ करोड, गरेको ७ दिनमा १ करोड र अर्को महिनामा १ करोड, ३ करोडको अफर गर्नुभयो उहाँले मलाई,’ उनले भने ।
उनले आफूले मन्त्री पद छाड्न परे भनेरै छाड्ने बताए । ‘नाम नै भन्ने बाध्यतामा नपार्नुहोला । त्यहाँसम्म मलाई नपुर्याउनुस् । केही दिन यो कुर्सीमा बस्ने रहर छ । देशका लागि केही गर्ने रहर छ,’ उनले भनेका छन् ।
मन्त्री किरातीको भाषण जस्ताको त्यस्तै:
यत्तिचाहिँ भन्नैपर्यो पद गए जाओस्, मन्त्री भएकै दिनदेखि एउटा ठूलै मान्छेको फोन आयो । मन्त्रीको छाप लगाएर जन्मेको मान्छे त होइन नि त म, खाए खान्छ त । उहाँको अफर थियो भेट्नुपर्छ भन्ने । मैले त अब बधाई-सधाई थाप्दाथाप्दै सकिनँ । छैटौं फेरि उहाँको फोन आयो, भोलि त भेट्नैपर्यो ।
उहाँको प्रस्ताव थियो— एक्लै भेट्नुपर्छ ।मैले भनेँ मेरो टोली छ, सुरक्षाकर्मीहरूले मलाई त खोज्छ । म त हराउनु मिल्दैन । फेरि मन्त्रालय पनि होइन, क्वार्टरमा पनि होइन उहाँले लगेको ठाउँमा वनझाँक्रीमा ओढारमा जानुपर्ने क्या । मिल्दैन भने उहाँको प्रस्ताव थियो । उहाँले कालो सिसा भएको गाडी पठाउँछु भन्नुभयो । म सक्दिनँ भने मैले । त्यसो भन्नुबित्तिकै मलाई डर लाग्यो, म सम्माननीय प्रधानमन्त्रीज्यूको निवासमा पुगेको थिएँ ।
उहाँले फेरि फोन गर्नुभयो आज त आउनैपर्यो बिहानै । ल म टोलीसँगै आउँछु नि भनेर उहाँको घरमा गएँ । सुरक्षाकर्मीहरूलाई बाहिर राखियो, एकजना भाइसँग म पसेँ । उहाँको घरमा ८४ व्यञ्जनको खाना थियो । बँदेलको मासु त यहाँ भेट्टाइँदैन रहेछ, टाढबाट ल्याउनुपर्ने रहेछ । हामी त गुन्द्रुक खाएर हुर्केको मान्छे ।
त्यसपछि पहिलो चरणको खानपिन गरिसकेपछि उहाँले मलाई एउटा रित्तो कोठामा लानुभयो । त्यो कोठामा महँगो भ्याकुम थियो अरु पनि कुराहरू थिए । खोइ किन त्यस्तो कोठा बनाएर राखिएको हो दरबारमा । र, भन्नुभयो— वायु सेवा निगमको जीएम फेरौँ तपाईंलाई टोकन मनी १ करोड, गरेको ७ दिनमा १ करोड र अर्को महिनामा १ करोड; ३ करोडको अफर गर्नुभयो । त्यसबेला मैले सम्झिएँ, म मन्त्री भएकै रहेछु भनेर ।
मेरो मुटुले ठिक ठाउँमा काम गरेन । कतै खिचिएको छ कि, कतै रेकर्ड गरिएको छ कि जस्तो लाग्यो । र, म चुकुल खोलेर बाहिर निस्केँ उहाँले समातेर फेरि भित्र हाल्नुभयो र भन्नुभयो— तपाईं कस्तो लाटा हो, राजनीतिको त टुङ्गो छैन त ।
म भर्खर ७ दिन भएको छ मन्त्री भएको भनेर म त्यहाँबाट हिँडे, त्यहाँबाट सम्पर्क भएको छैन । यहीँबाट मेरो कुर्सीमाथि घुनपुतली सुरू भयो । भएको छ, छोड्नुपर्यो भने भनेरै छाड्छु ।