काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर काण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने बताएका छन् । त्यसका लागि आफूले पनि सघाउने उनले बताए ।
आज बिहान डिल्लीबजार कारागारबाट रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले टिकापुर घटनामा सहादतप्राप्त व्यक्तिका परिवारले पनि न्याय पाउनुपर्ने बताए ।
डिल्लीबजार कारागारबाट रिहा भए पछि पत्रकारहरुसँग कुरा गर्दै चौधरीले भने, ‘त्यो अढाइ वर्षे बच्चा टेकबहादुर साउदको आत्माले पनि पुण्य प्राप्त गर्नुपर्छ । उहाँहरुको लागि लडिदिनु हाम्रो पनि नैतिक दायित्व हो । उहाँहरुले सोचेको जस्तो यो घटना हो कि होइन, अन्तिम सत्य थाहा पाउनुपर्छ ।’
उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र टिकापुर घटनाको शुद्ध छानबिन गरिनुपर्ने भन्दै त्यसका लागि पुनः उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताए ।
आफूहरु आन्दोलनकर्मी र टिकापुर घटनामा सहादतप्राप्त परिवारको वेदना एउटै भएको भन्दै उनले एकअर्काबीच अन्तरक्रिया गर्नुपर्ने समेत बताए ।
याे पनि,
उनले भने, ‘हामी आन्दोलनकर्मी र सहादतप्राप्त परिवारबीचमा पनि अन्तरक्रिया गरिनुपर्छ । उहाँहरुको आरोप हामीले सुन्नुपर्छ । हामीहरुको वेदना उहाँहरुले सुन्नुपर्छ । वेदना दुइटैको एउटै हो । कसैले कसैलाई आरोप लगाएर पन्छिन मिल्दैन । हामी सबैले वेदना साटासाट गरेर असली दोषीलाई राज्यले कारबाही गर्नुपर्छ ।’
चौधरीले टिकापुर घटनाको निरुपण सरकारले छिटो गर्नुपर्ने बताए । ‘टिकापुर घटनाको शुद्ध छानबिन गरिनुपर्छ । त्यो धरातलमा रहेका नागरिकसँग सोधिनुपर्छ । टिकापुर घटनालाई आफ्नो नांगो आँखाले देखेका व्यक्तिहरुको वयान लिइनुपर्छ,’ चौधरीले भने, ‘जेजस्तो भए पनि यसलाई निराकरण गर्ने दायित्व राज्यकै हो । राज्यले धेरै छिटो यसको निराकरण गर्नुपर्छ ।’
चौधरीले आज माइतीघरमा कोणसभा गरेर आजै कैलाली जाने जानकारी दिए । टिकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका अरु पनि छिटै रिहा हुने उनले बताए । आगामी असोज ३ गते वा त्यसभन्दा अगाडि नै उनीहरुको रिहाइको पहल भइरहेको जानकारी उनले दिए ।