काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सत्ता र सरकारमा लिप्त हुन थालेको बताएका छन्।
सोमवार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आजका युवाहरुमा कांग्रेसप्रति निराशा हुनुको मूल कारण सत्ता र सरकारका लागि मरिमेट्नु रहेको उल्लेख गरे।
यस्ता गल्ती गल्ती भएकै ठाउँबाट सच्याउनुपर्ने उनले बताए। थापाले पार्टीमा अब पनि यस्ता गल्तीहरु स्वीकारेर अघि नबढ्ने बताए।
‘त्यो कांग्रेस जसले मर्ला सत्ता चाहिँदैन, मलाई सिद्धान्त प्यारो छ भनेर ३० वर्ष पञ्चायतसँग संघर्ष गर्यो। त्यो कांग्रेस जुन ज्ञानेन्द्र शाहले गराएको निर्वाचनमा म जान्न भन्यो, चुनावमा अस्ति भर्खर २०६० सालमा होइन?’, उनले सोधे, ‘मेयर, उपमेयर, वडा अध्यक्ष बन्दैन थियौँ, हामी यो चुनावमा भाग लिँदैनौँ किनकी यो चुनाव चुनाव होइन भन्यो। त्यो कांग्रेसको इमेज अहिले के भयो? कांग्रेसका लागि सरकार सबै कुरा हो?’
थापाले अहिले कांग्रेसका लागि सत्ता नै सबैथोक हो भन्ने अवस्था बनेको पनि बताए। ‘कांग्रेसका लागि सत्ता सबै कुरा हो। सत्ताका लागि हामी सबै कुरा गर्छौं भन्ने जुन इमेज बन्यो, आज निराशाको मूल कारण यही हो’, उनले भने, ‘गल्ती जहाँबाट भएको सच्याउने काम त्यहीँबाट गर्नुपर्छ। अरु बैठकमा फरक मत राखियो, पार्टीको बहुमतको निर्णय भनेर मानियो तर अब मानिन्न, लडिन्छ, नेपाली कांग्रेसले त्यहीँबाट शुरु गर्छ, पार्टीको गल्ती स्वीकार्दै जनतासँग, पार्टी सदस्यसँग माफी माग्दै अब अघि बढ्छौँ।’
थापाले कांग्रेसले जति पटक हार्न तयार भए पनि चुनावअघि कहिल्यै गठबन्धन नगर्ने बताए। ‘सडकमा बस्नुपरे बस्नुपर्ला। तर गठबन्धन गरेर गल्ती गर्दैन’, उनले भने।