काठमाडौं । सरकारले औषधिजन्य प्रयोग गर्नको लागि गाँजा खेतीको अध्ययन गर्ने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै गाँजा खेतीको अध्ययन गर्ने बताएका हुन् ।
उनले सो घोषणा गर्दा सांसदहरुले ताली बजाएका थिए ।
प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष भने एक अर्कालाई हेरेर मुसुमुसु हाँसेका थिए ।
कृषिमन्त्री बेदुराम भुसाल पनि दंग परेर हाँसे भने उनीहरु हाँसेपछि अर्थमन्त्री पनि हाँसे ।
नेपालमा व्यापारिक प्रयोजनका लागि गाँजा खेतिलाई बैधता दिनुपर्ने माग उठ्दै आएको छ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत भएको वक्तव्यमा गाँजा खेतीको अध्ययनबारे घोषणा गर्दा संसद तालीले गुञ्जायमान भएको थियो ।
गाँजा खेतीको अध्ययनको विषयमा लामो समयदेखि बहस हुँदै आएको थियो ।