काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी जुलाई अन्तिम वा अगस्ट पहिलो साता चीन भ्रमणको सम्भावना रहेको सन्देश पठाएका छन्।
गत जेठ ५ देखि १८ सम्म चीनको भ्रमणमा रहेको पार्टी प्रतिनिधिमण्डको टोलीमार्फत प्रचण्डले सो सन्देश चीन पठाएका हुन्।
माओवादी उपाध्यक्ष समेत रहेका पूर्वसभामुख अग्नी सापकोटाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलको टोलीले प्रधानमन्त्रीको भ्रमणबारे सन्देश चीनसमक्ष पुर्याएको हो।
बिहीबार साँझ नेपाल आइपुगेको सो टोलीको भ्रमणबारे जानकारी दिँदै शुक्रबार उपाध्यक्ष सापकोटाले चीन भ्रमणको सन्देशबारे जानकारी गराएका हुन्।
‘भ्रमणअघि सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेको थिएँ। के सन्देश छ त? भनेर सोधे भने के भनौं भनेर सोधेको पनि थिएँ,’ उनले अघि भने, ‘उहाँले जुलाईको अन्तिम वा अगस्टको फस्टमा चीनको भ्रमण सम्भावना छ भनेर भन्नु भन्नुभएको थियो।’
साथै, बीआरआई अन्तर्गत केही योजना अनुदानमा उपलब्ध गराउन पनि चीनमसक्ष आग्रह गरिएको सापकोटाले बताए।
‘दोस्रो, बीआरआई अन्तर्गत सस्तो ब्याजमा ऋण भनेको छ। केही योजना अनुदानमा भएदेखि हामीलाई आर्थिक विकास गर्न सजिलो हुन्छ भन्नुभएको थियो। त्यही कुरा राखियो,’ सापकोटाले भने, ‘उहाँहरुले हुन्छ भन्नुभयो। वान टू वान कुरा गर्दा पनि मन्त्रीहरुले माथि कुरा राख्छौं भन्नुभएको छ।’
साथै, नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन चीनले जस्तोसुकै सहयोग गर्न तयार रहेको पनि उनले जानकारी गराए। गत जेठ ५ गते चीन प्रस्थान गरेको २० सदस्यीय टोली शुक्रबार नेपाल फर्किएको हो।