काठमाडौँ- बाल यौन दुरुपयोगको कसुरमा मदन राईविरुद्ध जिल्ला अदालत खोटाङमा बयान सुरु भएको छ। आइतबार जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र दायर गरेसँगै सोमबार अदालतमा बयान गराउन थालिएको हो।
बयान सकिएपछि उनीविरुद्ध थुनछेक बहस हुनेछ। थुनछेक बहससँगै राईलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने भन्ने टुंगो लाग्ने छ। तर दोषि वा निर्दोष भन्ने टुंगो फैसलामा मात्रै हुनेछ।
राईलाई वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेर अनुसन्धान गरेको हो। राईले सञ्चालन गरेको शुभद्रा मदन फाउण्डेसनमै अध्ययन गरेकी बालिकाले उनीविरुद्ध बालयौन दुरुपयोगको कसुरमा जाहेरी दिएकी थिइन्।
यसअघि प्रहरी र सरकारी वकिल कार्यालयले उनीसँग जेठ ३ गते बयान लिएका थिए। बयानका क्रममा उनले यौनजन्य गतिविधि गरेको स्वीकार गरेका छन्। तर यौन दुरुपयोगको नियतले नभई यौन शिक्षा दिने उदेश्यले त्यस्ता गतिविधि गरेको उनको बयान छ।