काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ ।
आफूहरुलाई बालसेनाका रुपमा प्रयोग गर्नु र जबरजस्ती अयोग्य भनेर शिविरबाट निकाल्नु युद्ध अपराध भएको भन्दै लेनिन विष्टले सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले मुद्दालाई अग्राधिकार दिनुका साथै उक्त विषयमा प्रचण्ड र भट्टराईसँग लिखित जवाफ मागेको हो ।
न्यायाधीश मल्लको इजलासले यो मुद्दालाई अग्राधिकार दिने निर्णय गरेसँगै अब यथाशक्य चाँडो सर्वोच्चले यसलाई निरुपण गर्ने भएको छ।
यसअघि यो रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको थियो। तर न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले गत शुक्रबार दर्ता गर्न आदेश दिएको थियो। दर्तासँगै उक्त रिटको पेशी मंगलबारलाई तोकिएको थियो।
यसअघि सर्वोच्च अदालत प्रशासनले प्रधानमन्त्रीसमेत रहेका प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार गरेको थियो।
माओवादीकै पूर्वबाल सेना विष्टले जनयुद्धका क्रममा बालसेना प्रयोग अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीतको कार्य भन्दै रिट हालेका थिए।