गाेरखा- नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दालाई बल्झाएर अदालतमा पुर्याउनु देशलाई पुनः द्वन्द्वमा धकेल्ने षडयन्त्र भएको बताएका छन् ।
गृहजिल्ला गोरखा भ्रमणमा रहेका भट्टराईले द्वन्द्वसम्बन्धी मुद्दा वृहत् शान्ति सम्झौतापछिको सत्य निरूपण, मेलमिलाप तथा बेपत्ता छानबिनसम्बन्धी आयोगले सम्बोधन गरिसकेपछिको अवस्थामा फेरि कोट्याउनु मनासिब नरहेको बताए ।
जिल्लामा सञ्चालित रणनीति पूर्वाधार विकासको अवस्थाबारे जानकारी लिन गोरखा आएका भट्टराईले त्यही षड्यन्त्रका लागि केही पात्रहरू उभ्याइएको दावी गरे ।
‘यो घटना एक प्रकारको पुरानो घाउहरुलाई कोट्याई रहेर देशलाई फेरि द्वन्द्वतिर फर्काउने केही शक्तिको चलखेल हो। त्यसैका लागि यसमा केही पात्रहरुलाई उभ्याइएको छ,’ उनले भने।
उनले विस्तृत शान्ति सम्झौताले यसलाई सम्बोधन गरिसकेको जनाउँदै बाँकी रहेको काम सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी छानबिन आयोगमार्फत छिटोभन्दा छिटो हल गर्ने विषय रहेको बताए।
‘अब हामीले सबै कुरालाई कोट्याएर एक–एक गर्दै मुद्दा मामिलामा गयौँ भने त्यसको अर्थ फेरि द्वन्द्वमा जाने भन्ने हुन्छ । त्यो अत्यन्त गैरजिम्मेवारीपूर्ण कुरा हुन्छ,’ उनले भने, ‘मलाई के विश्वास छ भने जिम्मेवार निकायहरूले यो कुरा बुझ्छन् । बरु छिटो यो कुरालाई आयोगमार्फत टुङ्ग्याइनुपर्छ भन्ने लाग्छ ।’
पूर्वप्रधानमन्त्री भट्टराईले सरकारले सार्वजनिक गरेको बजेटलाई लिएर त्यति उत्साहित हुनुपर्ने कारण नभएको समेत दावी गरे । ‘यो पटकको नीति कार्यक्रम तथा बजेटलाई त्यति उत्साहपूर्ण मान्न सकिन्न । कारण, यो पुरानै शैलीमा आएको छ । यसलाई लिएर खास ठुला आशा गर्न सकिन्न,’ उनले भने, ‘यद्यपि, गोरखाको हकमा बजेटले गरेको सम्बोधनलाई नराम्रो भनिरहन जरुरी छैन ।’
भट्टराईले यो पटकको गृहजिल्लाको भ्रमण रणनीतिक पुर्वाधारहरूको स्थितिबारे जान्नको लागि भएको प्रतिक्रिया दिए । उनले दुधपोखरी सडक, मध्यपहाडी लोकमार्ग, आरुघाट–लार्के, दरौँदी–लाप्राक र चेपे किनार सडकसँगै अन्य सडक परियोजनाहरू गोरखाका लागि रणनैतिक महत्वका भएका कारण त्यसको प्रगति चाँडो हुनुपर्ने बताए ।
भट्टराई बूढीगण्डकी जलविद्युत् आयोजना नेपाल आफैँले बनाउनुपर्नेमा जोड दिए।