काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चा निर्माणबारे प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निर्णायक छलफल गर्ने भएका छन्।
मोर्चा घोषणाको तयारीमा रहेका प्रचण्डसँग बिहीबार साँझ भट्टराईले निर्णायक छलफल गर्ने बताइएको छ।
स्रोतका अनुसार बिहीबार साँझ कुरा गरेर मोर्चा घोषणा मिति तय गर्ने तय भएको छ।
‘बाबुरामजीसँग अलि छलफल बाँकी रहेकोले आज साँझ कुरा हुन्छ, त्यसपछि मिति घोषणा होला,’ स्रोतले भन्यो, ‘अरु कुरा लगभग मिलेकै छ।’
प्रचण्डले बुधबार दाङ पुगेर मोर्चा घोषणा छिटो हुने बताएका थिए।
यद्यपि नेकपा माओवादी केन्द्रका कार्यालय सचिव डोर प्रसाद उपाध्यायले मोर्चा घोषणाबारे उच्चस्तरमा छलफल भइरहे पनि मिति तय भइ नसकेको बताए।
‘मोर्चा घोषणाबारे उच्च स्तरमा नेताहरू छलफलमा हुनुुहुन्छ। तर यही दिन भन्ने टुंगो छैन,’ उनले भने, ‘भोलि नै घोषणा गर्न त सचिवालयलाई पनि जानकारी हुन पर्ने हो, स्थान पनि तय भइसक्नुपर्ने हो।’
माओवादीसँग एकता नै गर्ने तयारी गरेका बाबुराम निकट नेताहरू माओवादी नेताहरूको व्यवहारका कारण बलियो बन्नुपर्ने अवस्था आएको महसुस गरेका छन्।
एकले अर्कालाई सम्मान गर्नुको साटो बलियो र निर्धा ठानेर व्यवहार गरिएको उनीहरूको गुनासो भएपछि बाबुराम गोरखामा संगठन विस्तारका लागि गएका थिए।
नेपालखबरबाट