काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
भट्टराई समाजवादी मोर्चाको विषयमा कुराकानी गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।
अध्यक्ष भट्टराईले प्रधानमन्त्री प्रचण्डसँग हालैको भारत भ्रमण, संघीय बजेट, टीआरसीलगायतका शान्तिप्रकृयाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा छलफल भएको बताए ।
देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि वृहत समाजवादी मोर्चा निर्माण गर्न आवश्यक भएको उनको भनाइ छ ।
प्रम पुष्पकमल दाहाल प्रचण्डसंग हालैको भारत भ्रमण,संघीय बजेट,TRCलगायतका शान्तिप्रकृयाका बाॅकी कार्यभार,प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा विहंगम कुराकानी ! देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धीहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको…
— Baburam Bhattarai (@brb1954) June 16, 2023
उनले भने, ‘विचार, नीति, कार्यक्रम, संगठनात्मक विधिलगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी भएको छ ।’
उनले बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह समेत गरेका छन् । बाबुराम पछिल्लो समय प्रधानमन्त्री प्रचण्डसँग सन्तुष्ट छैनन् ।
तत्काल पार्टी एकताको सम्भावना नभएपछि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा मोर्चा घोषणाको अन्तिम तयारीमा जुटेका हुन् ।
मोर्चामा बाबुराम भट्टराई नेतृत्वको नेसपा, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र वामदेव गौतमलाई पनि सामेल गराउने प्रयास भइरहेको छ ।