काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले समाजवादी मोर्चाको अवधारणा आफ्नो रहेको बताएका छन्।
दुई वर्षअघि नै आफूले अघि सारेको अवधारणामा मोर्चा घोषणा गर्दा आफूलाई जानकारी नदिइएको उनको दाबी छ।
उनले ट्विटरमा प्रश्न गरेका छन्, ‘दुई वर्ष अघिदेखि समाजवादी केन्द्र/मोर्चाको अवधारणा ल्याउने हामीलाई जानकारीसम्म नदिई मोर्चा घोषणा गर्नु! के यो सबै आकस्मिकता हो?’
कृष्णलाई देवकीकै गर्भमा हुँदादेखि सिध्याउन खोज्दा कृष्ण सिद्धिए? भन्दै उनले विचार कसैले मार्न खोज्दैमा नमर्ने बताएका छन्।
उनले नयाँ शक्ति स्थापना हुँदा निर्वाचन चिन्ह नै नदिइएको बताएका छन्। अरूलाई २० प्रतिशत मात्र केन्द्रीय सदस्य र सांसद भए पनि पार्टीको मान्यता दिलाउनु तर आफूसँग ४० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्य र सांसद हुँदा ऐन नै मुर्छा पारेर पार्टीको मान्यता नदिइएकोसमेत स्मरण गरेका छन्।
पहिलो, नयाॅ शक्ति स्थापना हुॅदा निर्वाचन चिन्ह नै नदिनु! दोश्रो, अरूलाई २०% मात्र केन्द्रीय सदस्य र सांसद भए पनि पार्टीको मान्यता दिलाउनु तर हामीसंग ४०% भन्दा बढी के स र सांसद हुॅदा ऐन नै मुर्छा पारेर पार्टीको मान्यता नदिनु! तेश्रो,दुइ बर्ष अघिदेखि समाजवादी केन्द्र/ मोर्चाको…
— Baburam Bhattarai (@brb1954) June 20, 2023