गोरखा- क्रियाशील सदस्यको समेत सदस्यता नवीकरण नगर्ने निर्णय गरेको भन्दै प्रेस चौतारी, गोरखाले नेपाल पत्रकार महासङ्घ गोरखा शाखालाई ज्ञापन पत्र बुझाएको छ ।
शाखा सदस्य समेत रहेका उद्धव कुमालको सदस्यता खारेजीको निर्णय भए लगत्तै मङ्गलवार चौतारीले आपत्ति जनाउँदै शाखा उपाध्यक्ष नरेन्द्र ढकाललाई ज्ञापन पत्र बुझाएको हो ।
कार्यवाहक अध्यक्ष सुजन न्यौपानेसहितको टोलीले शाखा उपाध्यक्ष ढकाललाई कार्यालय बाहिर ज्ञापन पत्र बुझाएको छ ।
शाखालाई बुझाएको ज्ञापन पत्रमा ‘मापदण्ड कार्यान्वयनको क्रममा नेपाल पत्रकार महासङ्घ गोरखा, शाखाको कार्यसमिति सदस्य समेत रहेका चौतारी गण्डकी प्रदेश कमिटीका सदस्य एवं हिमालयन टेलिभिजन गोरखाका संवाददाता कुमालको सदस्यता नवीकरण नगर्ने गरी सिफारिस गर्ने निर्णय भएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ’, भनिएको छ ।
शुद्विकरण अभियानको स्वागत गरेको चौतारीले बुझाएको ज्ञापन पत्रमा ‘नेपाल पत्रकार महासङ्घको सदस्यता शुद्धीकरण मापदण्ड–२०७९ को बिना आग्रह, पूर्वाग्रह कार्यान्वयन हुनुपर्छ’ भन्दै ‘प्रेस चौतारी नेपालको मान्यता रहेको स्मरण गराउँदै शुद्धीकरणकै नाममा क्रियाशील पत्रकार कुमालको सदस्यता नवीकरण नगर्ने निर्णय सच्याएर मात्रै प्रदेश र केन्द्रीय कार्य समितिमा सिफारिस गर्न माग गर्दछ’ भनेको छ ।
चौतारी गोरखा शाखाले सदस्यता शुद्धीकरण मापदण्ड–२०७९ को कार्यान्वयन गर्ने प्रक्रिया थालनी गरेकोमा चौतारी गोरखा शाखा उक्त कदमको स्वागत गरेको विज्ञप्तिमा भनिएको छ ।
२९ सदस्य रहेको गोरखा शाखामा ९ जनाको सदस्य शुद्धीकरणमा परेको भन्दै जिल्ला सचिव विकास मरहट्ठाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । प्रेस सेन्टर, गोरखा शाखाले मङ्गलवार नै कार्यालयमा तालाबन्दी गरेको छ । नयाँ सदस्यता चार जना थपेको शाखाले शाखाका पाँच जना सदस्यलाई मानार्थ सदस्य दिने निर्णय गरेको छ ।
जिल्ला अध्यक्षसमेत रहेका प्रेस युनियनका सचिव नरहरि सापकोटा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रेस संयाेजक हुन गएपछि जिल्ला अध्यक्ष विहीन छ ।
काेषाध्यक्षसमेत रहेका युनियनका गण्डकी प्रदेश सचिव माेहसिन अलि मियाँसमेत गोरखा छोडेर काठमाडौँमा रहेका छन् । शाखाको पदाधिकारीमा जिल्ला उपाध्यक्ष नरेन्द्र ढकाल, सचिव मरहट्ठा, सह-सचिव गुणराज राेकामात्रै जिल्लामा छन् ।
महिला उपाध्यक्ष रेणु श्रेष्ठ यसअघि नै शुद्धीकरणमा परेको भन्दै नवीकरण नगर्न शाखामा निवेदन दिएकी थिइन् ।