गोरखा- शहिदलखन गाउँपालिका-३, मनकामनामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
वडा न ३ को मनकामनामा स्थित सिलिङ र ढाँडवारि बिचमा पर्ने अमल डाँडा भन्ने स्थानमा शुक्रवार बिहान करिब ३:३० बजे जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । घटनामा १४ जना घाइते भएका छन् ।
दुलहा, दुलही र जन्ती बोकेर कोट गाउँबाट पोखरी डाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप आज बिहान तीन बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । जिपमा १९ जना सवार रहेका थिए ।
सडकबाट झन्डै दुई सय मिटर तल खसेर जिप दुर्घटना भएको डिएसपी लीलाराज लामिछानेले बताए । घटनास्थलमा स्थानीय सहित नेपाली सेना र सशस्त्र प्रहरीको टोली पुगेर उद्धार गरेको छ ।
मृतकहरूको सनाखत भइरहेको छ । पोखरी डाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापाको दुर्घटनामा मृत्यु भएको छ । यसै गरी, वडा नम्बर ४ का ६४ वर्षीय धनबहादुर थापाको पनि दुर्घटनामा मृत्यु भएको छ ।
दुर्घटनामा १२ जना घाइते भएका छन् भने दुई जना सकुशल छन् । गम्भीर घाइते वडा न ५, पोखरी डाँडाका ३८ वर्षीय लालु थापालाई चितवन मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ भने अन्य ११ जना घाइतेहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।