काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा देशले समृद्धिको जग हाल्नसक्ने ठूलो सम्भावना रहेको बताएका छन्।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औं वार्षिकोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित कविता महोत्सवमा बोल्दै उनले सो कुरा बताएका हुन्।
उनले प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा संघर्ष भएको र शान्ति स्थापना भएको बताए।
भूगोलका हिसावले सानो भएपनि नेपाल संस्कृति र भाषाका हिसाबले सानो नभएको पनि उनले बताए।
‘अब सुशासन कायम गर्नुपर्नेछ। प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा संघर्ष पनि भयो, शान्ति पनि उहाँकै नेतृत्वमा यो देशले प्राप्त गरेको छ। उहाँकै नेतृत्वमा समृद्धिको जग हाल्नसक्ने ठूलो सम्भावना छ,’ उनले भने, ‘हाम्रो भूगोल सानो छ। उत्तर दक्षिणतर्फ हाम्रा ठूला देशहरु छन्। तर संस्कृति र भाषाको दृष्टिकोणले हामी साना छैनौँ।’
विविध संस्कृति र भाषालाई बुनेर एक बनाउनुपर्ने उनको भनाई छ।
‘साहित्य संस्कृतिमा तपाईहरुले योगदान गरिदिनुहोस् अब हामी सुशासनको पक्षमा, भ्रष्टाचारको बिरुद्धमा र समृद्धिको पक्षमा जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न तयार छौँ,’ उनले भने।
मन्त्री किराँतीले सुशासनको पक्षमा, समृद्धिको पक्षमा र भ्रष्टाचारको विरुद्धमा सरकार जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको बताए।