गोरखा– अजिरकोट गाउँपालिकाले ‘फर्क युवा अभियान’ कार्यक्रम सुरु गरेको छ ।
गाउँपालिकाले पालिका भित्रका वैदेशिक रोजगारीबाट फर्किएका युवाको ज्ञान, सिप र क्षमतालाई गाउँको विकासमा लगाउँदै स्वरोजगार बनाउनका लागि ‘फर्क युवा अभियान’ कार्यक्रम सुरु गरेको हो ।
याे अभियान २०७६ सालदेखि नै निरन्तर सञ्चालनमा रहेकाे छ ।
‘विदेशबाट फर्किएर फेरि विदेशमा मात्रै अवसर देख्ने युवालाई गाउँमै रहेका थुप्रै अवसरसँग जोड्न सकिन्छ’, गाउँपालिका अध्यक्ष दीपक देवकोटाले भने, ‘त्यसका लागि गाउँपालिकाले उनीहरूलाई प्रोत्साहन गर्नुपर्छ भन्ने उद्देश्यसहित फर्क युवा अभियान स्वरोजगार कार्यक्रमको थालनी गरिएको हो ।’
गाउँपालिकाले चालु आर्थिक वर्षदेखि नै युवालाई गाउँमा स्वरोजगार बनाउन विभिन्न पेसा व्यवसाय सञ्चालनका लागि प्रोत्साहन गर्दै अनुदानसहितको अभियान थालनी गरेको अध्यक्ष देवकोटाले बताए ।
अभियानअन्तर्गत वैदेशिक रोजगारीमा गएर फर्किएका युवालार्ई अधिकतम ५० हजारसम्म आर्थिक अनुदान उपलब्ध गराइने कार्यविधि भएपनि पालिकाले प्रति यूवा २५ हजार दिएकाे छ ।
‘विदेशबाट फर्किएर सुरु गरेको पेसा, व्यवसाय र लगानीको प्रकृतिको आधारमा अनुदान उपलब्ध गराइने गरी कार्यविधि बनाएर कार्यान्वयन सुरु गरिएको छ’, उनले भने, ‘अहिले थालनी मात्र गरिएको हो, यो वर्ष २१ जना त्यस्ता युवा छनोट गरी अनुदान उपलब्ध गराएको छ ।’
कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका युवालाई स्वदेशमै फर्किएर गाउँमै स्वरोजगार बन्न चाहेमा वा वैदेशिक रोजगारीबाट फर्किएर गाउँमा पेसा व्यवसाय गर्दै आएका युवालाई गाउँपालिकाले प्रोत्साहनका लागि आर्थिक अनुदान उपलब्ध गराएको हो ।
‘अहिले गाउँका युवा सबै बिदेसिएका छन्, गाउँमा युवा नहुँदा विकासका निम्ति जनशक्तिको पनि अभाव भएकै छ”, उनले भने, “विदेशबाट फर्किएर गाउँमै केही गर्छु भन्ने युवाका लागि कार्यक्रमले उत्साहित बनाएको छ ।’
अध्यक्ष देवकोटाले विदेशबाट फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउन सके उनीहरूले विदेशमा सिकेका सीपलाई गाउँको विकासका लगाउन सकिने उल्लेख गरे ।
अनुदान कार्यक्रम सहभागी हुनका लागि श्रम स्वीकृति लिएर विदेश गई अनिवार्य रूपमा छ महिनाभन्दा बढी विदेशमा काम गरेर फर्किएको हुनुपर्ने, पालिकाभित्र अनिवार्य व्यवसाय दर्ता गरी सञ्चालन गरेको लगायतका पालिकाले निर्धारण गरेको सर्त पालना गर्नुपर्ने छ ।
तर, पालिकाले उपलब्ध गराएको अनुदान रकमले सामान्य काम पनि सहज नहुने एक युवाले बताए ।