काठमाडौं– नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले आफू पुराना नभइ नयाँ शक्तितिर लाग्ने बताएका छन्।
समाजवादी मोर्चासँग नजोडिएको विषयलाई स्पष्ट पार्दै उनले पुराना शक्ति अर्थात् माओवादी केन्द्रलगायतसँग नजोडिने प्रष्ट पारेका हुन्।
सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘जहाँसम्म हामी नयाँ शक्तितिर कि पुरानो शक्तितिर भन्ने प्रश्न छ, हामी नै वास्तवमा वैचारिक रूपले गत एक दशकदेखि देशमा नयाँ वैकल्पिक राजनीति/शक्तिका प्रमुख प्रवर्तक भएकाले हामी नयाँ वैकल्पिक शक्ति निर्माणकै पक्षमा रहेको र रहने कुरा स्वतः स्पष्ट छ।’
आफ्ना धेरै शुभेच्छुकहरू विशेषतः माओवादी आन्दोलनमा लागेकाहरूले आफैंले अघि सारेको समाजवादी केन्द्र वा समाजवादी मोर्चाबाट किन अलग भएको भनेर प्रश्न गरिरहेको बताउँदै उनले स्पष्ट पार्न आवश्यक रहेको बताएका छन्।
संविधान जारी भएपछि उपलब्धीहरूको रक्षा गर्दै सुशासन र समृद्धिको जगमा समुन्नत समाजवाद निर्माण गर्न नयाँ ढंगको समाजवादी केन्द्र वा समाजवादी मोर्चा आवश्यक रहेको आफूले नै बताएको उनले उल्लेख गरेका छन्।
‘सकेसम्म पुराना शक्तिहरूको रूपान्तरणबाटै त्यस्तो शक्ति बन्नसके सहज हुन्छ भन्ने इमान्दार प्रयत्न हामीले गरेकै हो। त्यसनिम्ति गम्भीर प्रकृतिको वैचारिक-राजनीतिक छलफलको आग्रह पनि गरेकै हो। परन्तु पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक-राजनीतिक विषयप्रतिको अरूची/अनिच्छा र खाली तत्कालीन संसदीय अंकगणित प्रतिको अतिशय लिप्साको प्रतिफल स्वरूप हामीसँग कुनै परामर्श र छलफल विनै रहस्यमय ढंगले कथित ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा हुनपुग्यो,’ उनको भनाइ छ।
नयाँ युगको नयाँ ढंगको समाजवादवारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा आफ्नो संलग्नता नरहने भट्टराईको भनाइ छ। उनले यसलाई समाजवादप्रति घात भनेका छन्।
भट्टराईले जनता समाजवादी पार्टी जसमासँग सहकार्य गर्दा आफ्नो छवि धमिलिएको बताएका छन्। त्यसमा आफूले आत्मालोचनासहित त्यलाई सच्याउने काम गरिसकेको उल्लेख गरेका छन्।
‘नयाँ युगको र देशको आवश्यकता अनुरूप हामी देशमा उदाउॅदै गरेका सबै अग्रगामी नयाँ शक्तिहरूसंग सहकार्य गर्दै वृहद नयाँ वैकल्पिक शक्ति निर्माणमा प्रतिबद्ध रहेको र रहने कुरा द्विविधारहित ढंगले स्पष्ट पार्न चाहन्छौं,’ उनले भनेका छन्।