काठमाडौँ– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडिओ झुटो भएको दाबी गरेकी छन्।
उक्त अडिओको अनुसन्धान गर्न प्रहरीमा दिएको उजुरीको छानविनबाट पनि उक्त कुरा प्रमाणित भएको उनले जिकिर गरेकी छन्।
उक्त अडिओ संवादमा एक व्यक्तिले अर्का कोही व्यक्तिसँग डा राणा र मञ्जु खाँडलाई रकम बुझाएको बताएका थिए। त्यो आवाज हाल अनुसन्धानमा रहेर केन्द्रीय कारागार सुन्धारामा थुनिएका दाङका सन्देश शर्माकै भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
उक्त अडिओ छानविन गर्न कांग्रेस सांसद् पनि रहेकी राणाले नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी थिइन्।
आफूलाई जोडेर ‘फेक अडिओ’ बद्नियतपूर्णरुपमा रेकर्ड गराइएको भन्दै त्यो कसले बनाएको र सामाजिक सञ्जालमा कसले राखेको अनुसन्धान गरी दोषीमाथि कारबाही माग्दै उनले गत वैशाख २७ मा उजुरी दिएकी थिइन्।
त्यही उजुरीका आधारमा अनुसन्धान गरेको प्रहरीले उक्त आवाज शरणार्थी प्रकरणका आरोपी सन्देश शर्माको आवाजको ‘स्याम्पल’सँग मेल खाएको जानकारी आइतबार गराएको थियो।
त्यही निवेदनमाथि अनुसन्धान गर्दा त्यो अडिओ टिकटकमा कसले पहिलो पटक राखेकोबारे टिकटक सिङ्गापुरसँग जानकारी मागिएको प्रहरीले जनाएको छ। तर उक्त जानकारी प्राप्त नभएको पनि नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए।