गोरखा- मोतिखोलामा पक्की पुल नहुँदा भीमसेन थापा- ३, तान्द्राङ्ग र आरुघाट गाउँपालिका-८ को स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ ।
दुई गाउँपालिकाको सिमानामा मोतिखोला पर्छ। जहाँ पक्की पुल नहुँदा स्थानीयलाई आवतजावत गर्न नै समस्या भएको हो ।
यो खोलामा पुल नहुँदा विशेष गरी साबिकको आरुपोखरी गाउँपालिकाको वडा न ८ का आलेगाउँ र कौसिनी गाउँको स्थानीयलाई दैनिक उपभोग्य समान खरिदसँगै विद्यार्थीको पढाइमा समेत ठुलो असर परेको स्थानीयको गुनासो छ।
यस खोलामा पक्की पुल नहुँदा बर्षात्काे जोखिम मोलेर खोला गर्नुपर्ने बाध्यता रहेको छ । आलेगाउँ र कौसिनी गाउँ जहाँबाट पढ्नको लागि भीमसेनको तान्द्राङ्गमा रहेको संस्कृत माध्यमिक विद्यालयमा जाने विद्यार्थी तथा शिक्षकको संख्या धेरै नै रहेको छ ।
हिउँदमा त खोला सानो हुन्छ, तर्नको लागि खासै जटिल हुँदैन । तर जब बर्खा लाग्छ खोला तर्न नसक्ने अवस्थामा हुन्छ र आवतजावतको लागि नै ठुलो असर पर्दछ । खोला ठुलो भएकै कारणले गर्दा विद्यार्थी पढ्नसमेत जान सक्ने अवस्था हुँदैन । यहाँ पुल नभएकै कारणले पानी परेपछि पढ्न जान समेत नपाएको विद्यार्थीको गुनासो रहेको छ ।
पुल नभएको कारणले पढ्नको लागि आरुघाट बजार गएर पढ्नुपर्ने बाध्यता रहेको छ । आर्थिक अवस्था राम्रो भएको घरपरिवारले त राम्रै ठाउँमा लगेर पढाउन सक्छन् । तर आर्थिक अवस्था कमजोर भएको बुबा आमाले कसरी आफ्नो बाल बालिकालाई पढाउन सक्छन् ? यहाँ पुल नभएकै कारणले र खोला ठुलो भएको कारणले बच्चा विद्यालय जान नमान्ने र बिचमा नै पढ्न छाडेको समेत अभिभावकको गुनासो रहेको छ ।
यहाँ एउटा धेरै पुरानो काठे पुल त रहेको छ । तर धेरै पटक स्थानीय जुटेर मर्मत गर्दा पनि खासै प्रभावकारी नभएपछि अहिले स्थानीयहरू चिन्तित भएका छन् । यो पुल दुई गाउँपालिका जोड्ने पुल हो । तर यस विषयमा कसैले पनि ध्यान दिएको अवस्था छैन । यसरी दुख पाउँदा पनि यहाँको सरोकारवालाहरू समेत खासै लागि नपरेको स्थानीयको गुनासो छ।
दैनिक आवतजावत गर्न नजिक पुल नहुँदा जोखिम पूर्ण रूपमा मोतिखोला तर्नुपर्ने बाध्यता रहेको आरुघाट गाउँपालिका-८, कौसिनीका स्थानीय डण्डपानी खनाल बताउँछन् । बर्षात्को समयमा त कति बेला खोलाले बगाउँछ भन्ने डर मात्रै हुन्छ ।
याे निर्वाचन क्षेत्रबाट संघमा राजेन्द्र बज्गाइँ , प्रदेशमा नन्दप्रसाद न्यौपाने निर्वाचित भएका छन् । उनीहरूको पाँच वर्षको कार्यकालमा समेत केही भएन भने अर्को पटकको निर्वाचनमा नेतालाई गाउँ छिर्न नदिने स्थानीयले चेतावनी दिएका छन् ।