काठमाडौं– त्रिभुवन विमानस्थल भन्सार परिसरमा थप एक सय किलो सुन रहेको आशंकासँगै राजस्व अनुसन्धान विभागले विशेष अप्रेशन जारी राखेको छ ।
विमानस्थलका कार्गो भवनबाट बाहिरिने गेटमा एक सय किलो बढी सुन समातिएको तेस्रो दिन राजस्व अनुसन्धान विभागले थप उस्तै प्रकृतिको एक सय किलो बढी सुन विमानस्थल भित्रै रहेको आशंकाको आधारमा अप्रेशन जारी राखेको हाे ।
विभागले बुधबार त्रिभुवन विमानस्थल कार्गो परिसर अघिबाट एक सय किलो बढी अवैध सुन बरामद गरेको थियो । अहिले उक्त सुनको मुचुल्का गर्ने काम भइरहेको छ ।
राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीले त्यस्तो अपरेसन चलाएका हुन् । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको नेतृत्वमा सशस्त्र प्रहरीका डिएसपी प्रदीपराई अपरेसनमा सहभागी छन् ।
सुन ल्याउने समूहले काठमाडौँका विभिन्न ठाउँमा थप सुन लुकाएको सूचनाका आधारमा ५ वटा टिम परिचालन गरिएको राजस्व अनुसन्धान विभागका एक जना अधिकृतले बताए । ती अधिकृत भन्छन्, ‘अहिले ५ वटा टोली बनाएर अपरेसन भइरहेको छ, अझै थप सुन बरामद हुने सम्भावना छ ।’
सुन ओसारपसारमा संलग्न आरोपमा ६ जनालाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका–३ घर भएका राम कुमार भुजेल, दिलिप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ घर भएका हर्कराज राई र भारतीय नागरिक थाप्तेन छिरिङ छन् । अरु दुई जनाको नाम विभागले सार्वजनिक गरेको छैन ।