काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली प्रस्थान गरेका छन्।
इटालीको राजधानी रोममा यही साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डलाई बिदाई गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मुख्यसचिव डा.वैकुण्ठ अर्याल लगायत नेताहरू विमानस्थल पुगेका थिए।
उनी कतार एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ।
लामो समयको अन्तरालमा दुई देशबीच उच्चस्तरीय भ्रमण हुन लागेको हो।
भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उदघाटन सत्रलाई सम्बोधन गर्ने बताइएको छ।
यस क्रममा उनले खाद्य प्रणालीसहितका एजेन्डामा छलफल गर्ने कार्यसूची रहेको छ।
प्रधानमन्त्री प्रचण्ड यही जुलाई २८ मा स्वदेश फर्किर्ने कार्यतालिका रहेको छ।
प्रधानमन्त्री प्रचण्ड विदेश भ्रमणमा रहेका बेला प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काले गर्ने भएका छन् ।
शनिबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्री तोकेका राष्ट्रपति कार्यालयले जनाएको छ ।